Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारप्रतिको निराशा हटाऔं, वैदेशिक रोजगारीमा जाने संख्या बढ्योः जिफन्ट


सरकारप्रतिको निराशा हटाऔं, वैदेशिक रोजगारीमा जाने संख्या बढ्योः जिफन्ट

काठमाडौं । एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सरकारप्रतिको निराशाले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिफन्टले आफ्नो पछिल्लो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गत वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.२ प्रतिशतले बढेको जनाएको छ ।

नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट नाम दिएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७९-८० मा ७ लाख ७१ हजार ३ सय २७ नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा गएको उल्लेख छ । जिफन्ट उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख रमेश बडालले सरकारसँग निराश हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको जिकिर गरे ।

उनले हालको संख्याअनुसार ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्बमात्रै भित्रिएकोले हराइरहेको ३८ खर्बको खोजी गरिनुपर्ने बताए । उनका अनुसार बढ्दो वैदेशिक रोजागारी र खस्कँदो रेमिट्यान्सको स्थितिलाई अहिलेको सरकारको नीतिले सम्बोधन गर्न नसकेको हो ।

प्रतिवेदनमा विभिन्न ७७ देशका २० हजार श्रमिकहरूले श्रमस्वीकृति लिएर नेपालमा काम गरिरहेकाले नेपाल श्रमिक आयतक मुलुक बन्दै गएको उल्लेख छ । प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्यांक सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।