काठमाडौं । कीर्तिपुर बहुद्धेश्यीय सहकारी संस्था लि.का अध्यक्ष दिल बहादुर महर्जनले पछिल्लो समय सहकारीमा समस्या आएको नभइ ल्याएको बताएका छन् । विजनेस दर्शनसँगको कुराकानीमा उनिले तत्काल देशमा आर्थिक समस्या छ, यस्तो अवस्थामा सहकारीमा पनि आर्थिक तरलता नभएको होइन ।
यहि मेसोमा माफियाहरुले सहकारीलाई कमजोर बनाउन खोजेको बताए । उनले भने,‘सहकारी मात्रै नभइ देशका कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले एक मुष्ट रकम एकै पटक दिन सक्दैनन् हामीले कसरी दिने’ ? सहकारी प्रति राज्यले हेर्ने दृष्टीकोण कमजोर छ, राजनीतिक दल सत्तामा केन्द्रीत छन्, देशको अर्थतन्त्रको तेस्रो खम्बा भनिने सहकारीहरु कमजोर हुदै गएका छन् । देशका करिब ३२ हजारबढी सहकारीमध्ये केहि सहकारीमात्रै समस्या आएको हो, जुन गलत नियतले सञ्चालनमा थिए ।
त्यस्ता सहकारीमा समस्या आउदा हामीलाई पनि असर परेको छ । कीर्तिपुर सहकारी संघ अध्यक्ष समेत रहेका महर्जनले कीर्तिपुरमा अहिले पनि ६०—६२ वटा सहकारी सञ्चालनमा रहेपनि कुनै सहकारीमा गम्भीर समस्या नआएको बताए । उनले शिवशिखर सहकारीको उदाहरण दिदै भने, उसले गलत नियतले यस क्षेत्रको खर्बाै रकम लुट्न खोजेको थियो हामीले त्यसलाई रोक्ने प्रयास नगरेको होइन तर, के गर्नु राज्यशक्ती नै त्यस्ता माफियाको पक्ष पोषणमा लाग्यो ।
अहिले त्यसको असर हामीले भोगीरहेका छौं । उनले कीर्तिपुरमा रहेका कुनै पनि सहकारीहरुले निक्षेपकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था नभएकाले केहि समय लागेपनि त्यसलाई हामीसबैले जोगाउनु पर्ने बताए । उनले भने, कुनै समय कीर्तिपुर बहुउद्धेश्य सहकारीका विषयमा पनि गम्भीर हल्ला फिजाइयो हामीले शेयर सदस्यहरुलाई आफ्नो व्यक्तीगत सम्पत्ती दिन तयार भएका थियौं । अहिले हामीमाझ त्यो समस्या छैन् ।
कीर्तिपुरका अधिकांस सहकारीले जग्गामा लगानी गरेको देखिन्छ,त्यो भन्दैमा निक्षेप फिर्ता गर्न नसक्ने होइन त्यसकालागि समय पनि दिनुपर्छ । उनले देशको आर्थिक समस्या र सहकारीमा निक्षेप फिर्ताको मागलाई अन्त्य गर्न राज्यले नोटबन्दीको अवधारणा अघि सार्नु पर्छ, जसले सबै समस्या समाधान हुन्छ । उनले भने, ‘सहकारीबाट रकम माग गर्ने र घरमा ठुलो धनराशी संचित गर्ने, होण्डी जस्ता गलत कार्यमा धेरै कमाउने आशा राख्नेले सहकारीलाई थप कमजोर बनाएको उनको तर्क छ’ ।
कीर्तिपुर बहुद्धेश्यीय सहकारीको पुरानो नेतृत्वले ४०० प्रतिशतसम्म बोनस रकम वितरण गरेको अवस्थामा सहकारीनै जिवनको अभिन्नअंग बनेको थियो, त्यहि सहकारीका विषयमा गलत समाचार प्रकाशन हुदा हामीले थेक्न नसक्ने अवस्था आएको उनले सुनाए । उनले भने,अहिले सबैमा समस्या छ, त्यो भन्दैमा सहकारीले निक्षेपकर्ताको रकम तिर्न गर्न आनाकानी गरेको भने होइन । उनले भने कुनै समय सहकारीमा गलत नियतले प्रवेश गर्नेहरुले निक्षेपकर्तालाई भ्रममा राखेका थिए, अहिले त्यसको अन्त्य भएको छ । उनले आफ्नो सहकारीमा १२ देखि १३ प्रतिशतसम्म संचिती रहेको भन्दै धैय गर्न शेयर सदस्यलाई आग्रह गरे ।
एउटा सहकारीमा समस्या आउदा सबैलाई त्यसको प्रभाव पर्छ,हामी एक अर्कासँग मिलेर जानुपर्छ त्यसकालागि एउटा सहकारीको समस्या समाधान हुन आवश्यक रकम चाहिन्छ भने, व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘मानौं कीर्तिपुरमा रहेको कुनै सहकारी समस्यामा रहेको छ, भने त्यस्तो सहकारीलाई हामीसबैले ऋण दिएर त्यसको समस्या समाधान गर्नुपर्छ’ । त्यसकालागि आफुले सघंमा कार्ययोजना पेस गरेको बताए ।
सहकारी भनेको सहकार्य हो, हामीले शेयर सदस्यलाई बुझाउन जानिनौं होला । ब्याज धेरै आउने प्रलोवन देखाएर आफुतिर तान्ने प्रयास गर्दा अहिले दुःख पाएका छौं । दुर्गा प्रसाईँ जस्ता अभियान्ताका कारण पनि सहकारी तथा वित्तीय संस्थाहरुले समस्या भोगेको बताए । उनले भने, प्रसाईँ जस्ता अभियन्ताले रकम तिर्नुपर्दन भनेर अभियान चलाउने, सहकारीबाट ऋण लिएकाले रकम तिर्न नखोज्दा निक्षेप फिर्ता नभएको उनको भनाई थियो । उनले भने, त्यस्ता अभियान्तालाई राज्यले कडा कारबाहि गर्नु पर्छ ।
सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधन गर्न के गर्नुपर्छ भन्ने प्रश्नमा उनले भने, सबै भन्दा पहिले सहकारी व्यवस्थापक र शेयर सदस्यबीच सहकार्य हुन आवश्यक छ । हामीले आफ्नो दैनिक योजना र रणनीतिका विषयमा प्रष्ट जानकारी गराउने, आफुसँग भएको चलअचल सम्पत्तीको विवरण सार्वजनिक गर्ने र शेयरसदस्यहरुलाई विश्वासमा ल्याउने काम गर्नुपर्छ । उनिहरुको निक्षेप कहाँ र कसरी चलेको छ, भन्ने देखाउनु पर्छ ।
अहिले सहकारीकर्मी र शेयरदस्यबीच मतभेद र आशंकाको खाडल छ । तपाईहरुले श्वेतपत्र र सम्पत्ती विवरण बुझाउनु भयो भन्ने प्रश्नमा उनले भने, सहकारीको साधानसभा पछि विभाग तथा सम्बन्धीत निकायले गरेको ताकेता सम्बोधन हुन्छ । सबै विषय हामीले तयारी अवस्थामा राखेका छौं ।
कुनै समय तपाईहरुले ४ सय प्रतिशत बोनस बाड्नुभयो, घरजग्गामा ब्यापक लगानी गर्नुभयो भन्ने सुन्नमा आएकोछ, चिनी तथा सिमेन्ट काण्ड जस्ता विषय पनि छन् यहाँलाई के लाग्छ ? भन्ने प्रश्नमा उनले भने, हामीले शेयरसदस्यहरुको सुविधाकालागि उपभोग्य बस्तुको आयात गरेका थियौं, केहि समस्या आयो, घरजग्गामा लगानी नभएको होइन तर, सहकारीको नियमनका कारण अहिले त्यसलाई छोडेका छौं, बाँकी ४ सय प्रतिशत बोनसको विषयमा अघिल्लो कार्यसमितिले जग्गा विक्रिबाट प्राप्तगरेको मुनाफालाई सदस्यमा वितरण गरेको थियो जुन विषय सहकारीको नियमभित्र पर्दन थियो ।
अहिले सहकारीले विभिन्न कम्पनीमा लगानी गरेको जस्तै खानेपानी उद्योग, यसपटकबाट कीर्तिपुरको पर्यटनकालागि पर्यटक बढाउन लगानी गर्ने र कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्ने विचारमा छौं । त्यस्तै हामीसँग अहिले उपभोग्य सामाग्रीको स्टोर, इलेक्टोनिक्स् स्टोर र फिट्नेस हाउसपनि सञ्चालनमा रहेको उनले बताए । अन्य सहकारीमा जस्तै तपाईको पनि समस्या हो ? भन्ने प्रश्नमा उनले भने, केहि समस्या नभएको होइन तर, त्यसको व्यवस्थानमा हामी जुटिरहेका छौं । साधारणसभाबाट त्यो समस्यापनि समाधान हुन्छ ।