काठमाडौं । कोभिडकालमा दुई अर्ब १६ करोड खर्चेर नेपाल–भारतको सीमाक्षेत्रमा बनाइएका सातवटा होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगविहीन छन् । भारतबाट आउनेलाई सीमाक्षेत्रमै केही दिन राखेर स्वास्थ्य जाँच गर्ने उद्देश्यले झापाको काँकडभिट्टा, मोरङको विराटनगरस्थित रानी, पर्साको वीरगन्ज, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको महेन्द्रनगरमा निर्माण गरिएका होल्डिङ सेन्टर प्रयोगमै नआएका हुन् ।
प्रत्येक होल्डिङ सेन्टर एक–एक हजार व्यक्ति अट्ने क्षमताका छन् । हरेक होल्डिङ सेन्टरमा कम्तीमा २० भवन, एक हजार बेड र आवश्यक उपकरण छन् । तर, संघ, प्रदेश र स्थानीय तहले चासो नदेखाउँदा सबैमा ताला लगाएर बन्द गरिएको छ । हाल कोभिड नभए पनि अन्य प्रयोजनमा लगाउन सकिने संरचना बिग्रिने जोखिम बढेको छ । यी होल्डिङ सेन्टर सञ्चालनको मोडालिटी तय गर्न ६ महिनाअघि बनेको रक्षा मन्त्रालयको कार्यदल पनि अनिर्णीत बनेको छ ।
मोरङको विराटनगर महानगर र कैलालीको धनगढी उपमहानगरले होल्डिङ सेन्टरमा अस्पताल चलाउन खोजेका छन्, तर हजार बेडको पूरै संरचनामा होइन । त्यसबाहेक भाडामा रहेका सरकारी कार्यालय सञ्चालनको अर्को विकल्प पनि छ । संघका दुई मन्त्रालय तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट राय प्राप्त भएमा सोहीअनुसार प्रतिवेदनलाई अन्तिम रूप दिएर मन्त्रालयमा पेस गरिने उनले बताए ।
कार्यदलले यसअघि होल्डिङ सेन्टरकै विषयमा झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रदेश र स्थानीय तहको प्रतिनिधित्व रहने गरी सहकार्य दल बनाएको थियो । तर, जिल्लाबाट होल्डिङ सेन्टरको स्पष्ट कार्ययोजना नआएको र आंशिक प्रयोगको विषय मात्र समेटिएको थियो । सरकारले ५ वैशाख ०७८ मा १० वटा होल्डिङ सेन्टर बनाउने निर्णय गर्दा देशभर कोरोनाको महामारी थियो । रूपन्देहीको बेलहिया तथा काठमाडौं उपत्यका प्रवेश गर्ने थानकोट र भक्तपुरको सल्लाघारीमा पनि होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । १३ वैशाखमा निर्माणको जिम्मा पाएको नेपाली सेनाले यी तीन ठाउँ छाडेर सात ठाउँमा मात्रै होल्डिङ सेन्टर बनाउन हनुमान कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । बेलहियामा जग्गा प्राप्त नभएर बनाएन भने थानकोट र सल्लाघारीमा अस्थायी रूपमा मात्रै होल्डिङ सेन्टर चलाइयो । त्यतिखेर होल्डिङ सेन्टर निर्माणको कुल लागत अनुमान दुई अर्ब ३२ करोड ९० लाख रहेकामा सातवटा मात्र निर्माणमा दुई अर्ब १६ करोड खर्च भएको थियो ।
हस्तान्तरण नहुँदा काँकडभिट्टाको होल्डिङ सेन्टर एक वर्षदेखि रुँगेर बस्दै सेना
झापाको मेचीनगर नगरपालिका– १४ दुवागडीमा एक वर्षअघि नै होल्डिङ सेन्टर निर्माण भए पनि प्रयोगविहीन छ । कोरोनाको समयमा पूर्वीनाका काँकडभिट्टादेखि आउने नेपालीलाई राख्न भनेर हजार बेडकोे होल्डिङ सेन्टर बनाइएको थियो । कोरोना महामारी नियन्त्रणसँगै करिब २८ करोडमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । होल्डिङ सेन्टर नेपाली सेनाको चारआलीस्थित अरिदमन गणको जिम्मामा छ । त्यस्तै, मोरङको विराटनगर (रानी) जोगबनी नाकामा निर्माण गरिएको होल्डिङ सेन्टर सवा एक वर्षदेखि प्रयोगविहीन छ । २८ करोड ९१ लाखमा नेपाली सेनाले हनुमान कन्स्ट्रक्सनमार्फत विराटनगर– १६ स्थित विराटनगर जुटमिलको पाँच बिघा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गरेको हो ।
१३ महिना लगाएर बनाइएको वीरगन्जको होल्डिङ सेन्टर प्रयोगमै आएन
वीरगन्ज–रक्सौल नाकाको वीरगन्ज भन्सारको पश्चिमपट्टिको गोदाम क्षेत्रमा १३ महिना लगाएर निर्माण भएको होल्डिङ सेन्टर अहिलेसम्म प्रयोगमा आएको छैन । २५ असार ०७८ बाट निर्माण थालिएको होल्डिङ सेन्टर गत वर्ष भदौमा मात्र सकिएको थियो । करिब २८ करोड लागतमा निर्माण भएको होल्डिङ सेन्टर अहिलेसम्म प्रयोगमा आएको छैन । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार सरकारी निकायलाई हस्तान्तर भइनसकेकाले अहिले सेनाले नै रेखदेख गरिरहेको छ ।
साढे २७ करोडमा बनेको कपिलवस्तुको होल्डिङ सेन्टर प्रयोगविहीन
२७ करोड ६७ लाख ८२ हजार लागतमा कपिलवस्तुको कृष्णनगर नगरपालिका– १ को भन्सार नाकानजिक ६ सय बेड र सोही वडाको शिवनगरमा चार सय बेडको होल्डिङ सेन्टर गत वर्ष नै निर्माण भए पनि सञ्चालनको मोडालिटी नबन्दा प्रयोगमा आउन सकेको छैन । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले होल्डिङ सेन्टर के–कसरी सञ्चालन गर्ने भनेर केन्द्रले निर्णय गरेपछि मात्र थाहा हुने बताए । कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्र र प्रदेशले स्थानीय तहलाई स्रोत–साधन उपलब्ध गराउनुपर्ने बताए । कृष्णनगर नगरपालिकाले नेपाल आउनेको स्वास्थ्य परीक्षण भन्सारको एउटा कोठामा गर्दै आएको छ । अहिले कोभिड महामारी नरहे पनि मलेरिया, टिबी, एचआइभी÷एड्सको जाँच भइरहेको छ ।
बाँकेको होल्डिङ सेन्टर सञ्चालनमा नआउँदै चर्किन थाले भवनका भित्ता
बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १४ भवनियापुरस्थित निर्माण भएको होल्डिङ सेन्टर सञ्चालनमा नआउँदै भवनका भित्ता चर्किन थालेको छ । भवनमा लगाइएका ताला नखोलेको एक वर्ष भइसकेको छ । तालामा खिया लागेर खोल्न नसकिने भएका छन् भने होल्डिङ सेन्टर परिसरमा खाल्डाखुल्डीसमेत परेका छन् । कुल २९ करोड ३८ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भएको होल्डिङ सेन्टर जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना संक्रमितलाई राख्ने उद्देश्यले निर्माण गरिएको हो । १३ असार ०७९ मा निर्माण भएको होल्डिङ सेन्टर नेपाली सेनाले श्री नम्बर ४ बाहिनी अड्डालाई हस्तान्तरण गरेको थियो ।
होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम
कैलालीको त्रिनगर भन्सार नाकानजिक बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ । २८ करोड ८१ लाख लागतको होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगविहीन छ । राज्यको ठूलो लगानी रहेको होल्डिङ सेन्टर लामो समयसम्म प्रयोगविहीन हुँदा संरचना र त्यसभित्र राखिएका सामान जीर्ण बन्ने जोखिम छ । तर, कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्ने यकिन भएको छैन । होल्डिङ सेन्टरबाहिर नेपाली सेनाले पहरा दिइरहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले संरचना जतिसक्दो चाँडो प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
बाल अस्पताल सञ्चालनको पहल
धनगढी उपमहानगरपालिकाले होल्डिङ सेन्टरमा निजी क्षेत्रबाट बाल अस्पताल सञ्चालनका लागि पहल थालेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालाले सुदूरपश्चिममा बाल अस्पताल सञ्चालन गर्न चाहेकाले होल्डिङ सेन्टर उक्त अस्पताल सञ्चालनका लागि दिन सकिने उपमहानगरको भनाइ छ । डा। कोइराला र धनगढी नगरप्रमुख गोपाल हमालले केही दिनअघि होल्डिङ सेन्टरको निरीक्षण गरेका थिए ।
होल्डिङ सेन्टरमा स्त्री तथा बालरोग विशेषज्ञसहितको अस्पताल सञ्चालन गर्न उपमहानगरले डा। कोइरालालाई आग्रह गरेको थियो । डा। कोइरालाले सुदूरपश्चिममा सेवा दिनका लागि बाल अस्पताल सञ्चालन गर्न चाहेकाले होल्डिङ सेन्टर उपलब्ध गराउन पहल थालिएको र डा। कोइरालालाई निरीक्षण गराइएको मेयर हमालले बताए ।
दुई वर्षअघि नै बनेको कञ्चनपुरको होल्डिङ सेन्टर सञ्चालनमै आएन
कञ्चनपुरको महेन्द्रनगरस्थित भगतपुरमा दुई वर्षअघि नै बनेको होल्डिङ सेन्टर प्रयोगमा आएको छैन । हनुमान कन्स्ट्रक्सनले २९ करोड २४ लाखमा चैत ०७८ मा निर्माण गरेको थियो । तर, हस्तान्तरण नै नहुँदा होल्डिङ सेन्टर सेनाले रेखदेख गर्दै आएको छ । हनुमान कन्स्ट्रक्सनका म्यानेजर लक्ष्मण सापकोटाले होल्डिङ सेन्टर हस्तान्तरणमा समस्या भएको बताए । ‘बुझिदिने निकाय भएनन्, कसलाई बुझाउने हामी अन्योलमा छौँ,’ उनले भने । स्थानीय, प्रदेश र संघीय सरकारका अधिकारीले स्थलगत अनुगमन गरे पनि सञ्चालनको स्पष्ट खाका आइसकेको छैन ।
होल्डिङ सेन्टरमा के–के छ
हरेक होल्डिङ सेन्टरमा एक हजार बेड क्षमताका २२ देखि ५१ ब्लक छन् । होल्डिङ सेन्टरमा क्वारेन्टिन, चिकित्सक कक्ष, शौचालय, भान्साघरसहितका ब्लक छन् । ब्लकको दुवैतर्फ शौचालय निर्माण गरिएको छ । आइसोलेसन र शौचालय ब्लक गरी दुई भागमा बाँडिएको छ । हजार बेडमध्ये सय बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।