काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याज घट्नुपर्ने बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषय कार्यक्रममा बोल्दै उनले बैंकको ब्याज घट्नु पर्ने धारणा राखेका हुन् ।
‘बैंकको ब्याजदले पनि उद्योगी व्यवसायीलाई हतोत्साहित गरेको छ, ब्याजलाई घटाउँदै जानु पर्छ, नियामक राजनीतिक पार्टीको गोटी बन्नु हुँदैन, निजी क्षेत्र अगाडि बढ्यो भने मात्र समग्र अर्थतन्त्र अगाडि बढ्छ,’ उनले भने ।
कार्यक्रममा मन्त्री रमेश रिजालले नेपाल राष्ट्र बैंकको नेतृत्व कुनै पनि राजनीतिक दलको गोटी बन्न नहुने धारणा राखेका छन् । उनले पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याज बढेको भन्दै आलोचना गरेपनि नियामकले त्यसतर्फ ध्यान नदिएको धारणा राखेका हुन् ।
उनले अर्थतन्त्र संकटमा भएको हल्ला भएपनि त्यस्तो अवस्था नभएको धारणा राखे । उनले केही व्यक्तिहरुले अर्थतन्त्र संकटमा भएको भन्दै हल्ला फैलाए पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको धारणा राखेका हुन् ।
उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको पनि बताए । निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै सरकारले उनीहरुको लागि सहज नीति नियमहरु बनाउँदै लगेको तर्क व्यक्त गरेका छन् ।