Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनमा निर्यातको व्यापार दोब्बरले बढ्यो


चीनमा निर्यातको व्यापार दोब्बरले बढ्यो

काठमाडौं, श्रावण ३१ । गत आर्थिक वर्षमा चीनमा निर्यातको व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपैयाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९,८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

अघिल्लो आव २०७८,८० मा ८० करोड ८७ लाख ५४ हजार रुपैयाँको सामान निर्यात भएको थियो । कोभिडको प्रभाव कम हुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले पनि निर्यातमा वृद्धि भएको हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले चीनमा व्यापार बढ्नु सकारात्मक भएको बताए। कोभिडका कारण अघिल्लो वर्ष निर्यात न्यून थियो, गत वर्ष चीन सरकारले स्वदेशी सामान निर्यातमा लगाउँदै आएको प्रोटोकल लुज गरेकाले निर्यात बढ्न गएको हो ।

भारतपछिको ठुलो बजार चीन भएकाले स्वदेशी वस्तुको निर्यात बढाउने पर्याप्त सम्भावना भएकाले निर्यात बढाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उले बताए । विभागका अनुसार आव २०७७,७८ मा एक अर्ब एक करोड  रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । यस्तै आव २०७५,७६ मा नेपालबाट दुई अर्ब सात करोड रुपैयाँको सामान निर्यात भएको तथ्याङ्क छ । चीन नेपालको वैदेशिक व्यापारको दोस्रो साझेदार मुलुक हो । चीनतर्फ निर्यात न्यून रहे पनि आयात भने उच्च परिणाममा हुने गरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको छ ।

आव २०७९,८० चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड ५९ लाख रुपैयाँको सामान आयात भएको छ । आव २०७८,७९ मा दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँको सामान आयात भएको थियो । आव २०७७र७८ मा दुई खर्ब ३३ अर्ब रुपैयाँको सामान आयात भएको तथ्याङ्क छ । विभागका अनुसार गत आवमा नेपालबाट चाउचाउ, ऊनी गलैँचा, ऊनी फेल्टका सामग्री, तामाका सामान, हस्तकला सामग्री तथा जडीबुटी निर्यात भएका छन् । चीनसँगका उत्तरी सीमानाकाबाट द्विपक्षीय व्यापार सुचारु भएसँगै नेपालबाट निर्यात बढ्न थालेको व्यवसायीको भनाइ छ । राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लो समय चीनमा नियमित रूपमा सामान आयात निर्यात भइरहेको बताएका छन् ।

गत चैत १८ बाट रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आएको थियो भने २०८० साल वैशाख १८ बाट तातोपानी र हिल्सा नाकासमेत सञ्चालनमा आएसँगै चीनतर्फको निर्यात व्यापार लयमा फर्कन थालेको थियो । चिनियाँ सामान नेपालले यसअघि भारतको कोलकाता बन्दरगाहको बाटो हुँदै आयात गर्ने गरेकामा उत्तरी नाका खुलेसँगै ढुवानी सहज भएको व्यवसायीको बताएका छन् ।