मोरङ । मोरङस्थित ईष्टन स्टार कृषि सहकारी संस्थाले आफ्नो एघारौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका–८ स्थित सहकारीले आफ्नो एघारौं वार्षिक सभा सफलतापूर्वक बुधबार सम्पन्न गरेको हो ।
सहकारीका शेयर सदस्य, विभिन्न व्यक्ति तथा विज्ञहरुको उपस्थिति रहेको सो कार्यक्रममा आगामी वार्षिक योजना सहितको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष यशोदा राईले विगत केही वर्ष अघिदेखि नै देशलाई विभिन्न प्राकृतिक प्रकोप र अन्य मानव सृजित समस्याले गिजोलिरहेको अहिलेको अवस्थामा सबै क्षेत्र नै प्रभावित परेको बताईन् । जसअन्तर्गत सहकारी पनि परेको रहको उनले जानकारी दिईन् ।तरलता अभावको अवस्थामा अन्य क्षेत्रसँगसँगै सहकारी क्षेत्र पनि अछुतो रहन सकेन जसकारण, ऋण लिएर आफ्नो कृषि, व्यापार व्यवसाय सञ्चालन गर्दै आएका ऋणीहरु अझ धेरै पिडित भएको उनले दुखेसो व्यक्त गरिन् ।
उनले यस्तो विषम परिस्थितिमा सहकारीका सदस्यहरुलाई कुनै कठिन नहोस् भन्दै संस्थाले ऋण प्रवाहमा केही हेरफेर गरी थप सुविधा दिएको जानकारी पनि दिईन् । उनले भने, ‘यस बर्ष पनि हाम्रो संस्थाको शेयरसदस्यले यस्तो अवस्था भोग्न नपरोस भनेर संस्थाबाट ऋण लिई आफ्नो व्यापार तथा कृषि कार्य सञ्चालन गर्दै आउनु भएका कृषक सदस्य तथा ऋणीहरुलाई ब्याज छुट प्रदान गर्नुका साथै ऋणको किस्ता तथा ब्याज समयमा नतिरे बापत् लाग्ने हर्जाना ब्याज छुट गर्ने व्यवस्था गरेका छौँ ।’
हालसम्म १ हजार ९ सय सात जना सदस्य रहेको सो सहकारीमा आर्थिक वर्ष ०७८।७९ को अन्त्यमा संस्थाको शेयर चुुक्ता पूँजी त्रीचालीस करोड सतासी लाख रहेकोमा आ.व. ०७९।८० मा आईपुग्दा १३ दशमलव पैंसठ्ठि प्रतिशत अर्थात् पाँच करोड उनान्सय लाखले बढ्न गई आ.व. ०७९।८० को अन्त्यमा उन्चास करोड सतासी लाख रहन गएको छ । यसरी आर्थिक मन्दीको अवस्थामा पनि संस्थाको सदस्यहरुको अटुट सहयोग र समर्थनले भारी शेयर वृद्धि गर्न सकेकोमा सबै शेयरधनी सदस्यप्रति अध्यक्ष राईले धन्यवाद व्यक्त गरिन् । साथै, उनले संस्था कृषि सहकारी भएकोले बचत र ऋण भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नलाई शेयर वृद्धिमा नै विशेष प्राथमिकता दिएको पनि बताईन् ।
स्थापनाको छोटो समयामा नै प्रगती र लोकप्रियता बढ्नुमा सदस्यज्यूहरुको एक आपसको विश्वास, बढ्दो सहभागीता, गतिशिल नेतृत्व, पारदर्शीता एवं इमान्दारिता नै प्रमुख कारण भएको बताउँदै संस्थाकी सचिव सीमा कुमारी कार्कीले सदस्य सेवा र सहभागितालाई नै मूल मार्ग दर्शन मानी संस्थाले आफ्नो क्रियाकलाप अभिवृद्धि गरेको विश्वास प्रकट गरिन् ।
संस्थाकी कोषाध्यक्ष विन्दु श्रेष्ठले संस्थाको आ.व.२०७९।८० मा कुल आम्दानी मात्रै पाँच करोड एकानब्बे लाख रहेको र उक्त आम्दानीबाट खुद नाफा एक्काइस लाख पच्चीस हजार हुन गएको जानकारी दिईन् । साथै उक्त खुद नाफालाई विद्यमान विनिमय अनुसार कोष बाँंडफाँंड गर्दै आएको पनि उनले अवगत गराईन् ।
कार्यालय मार्फत् घरदैलो मै सदस्यहरुलाई सेवा पु¥याउने उद्देश्यले सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको बताउँदै लेखा सुपरिवेक्षण समिति संयोजक सुवर्ण महर्जनले आर्थिक, सामाजिक, सांस्कृतिक जीवनस्तरमा सकारात्मक परिवर्तनका लागि सुरक्षित दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध समेत गराउँदै आएको जानकारी दिए ।
सभामा संस्थाका सल्लाहकार दिनेश दर्शनधारीले अहिलेको अबस्थामा सबैभन्दा बढी सहकारी संस्थाहरु समस्यामा रहेको भन्दै यस्तो अबस्थामा सहकारीलाई बचाउनु नै देशको अर्थतन्त्रलाई जोगाउनु परेको बताए । उनले सहकारी त्यसमा पनि कृषिसँग सम्बन्धीत सहकारीको अबस्था दिनप्रतिदिन विग्रदै गएको भन्दै यस्तो अबस्थामा सरकारले तत्काल समस्या सम्बोधन गर्नुपर्ने माग राखे । उनले भने, ‘सहकारी अहिले समस्यामा छ, राज्य भने मौन छ । हिजो यहि सहकारीले देशको अर्थतन्त्रलाई चलायमान बनाएको थियो आज, यहि सहकारी सबैको समस्या बनेको छ । तर, सहकारी बचाउनु नै शेयर सदस्यको दायित्व हुनेमा आफूु ढुक्क रहेको उनले बताए ।