काठमाडौं, २५ असार । गैरकानुनी रूपमा भन्सार छली गर्दै कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
आइतबार बिहान १० बजे नेपाल वायु सेवा निगमको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथमा स–साना परिमाणका सुनका गहना फेला परेका थिए ।
पक्राउ पर्नेहरुमा सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ ।