Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य क्रमिक रूपमा घट्यो


अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य क्रमिक रूपमा घट्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य पनि क्रमिक रूपमा घट्दै गईरहेका छ । एक महिनाको अवधिमा मात्रै बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँको दरले घटेको छ ।

गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपियाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको महासङ्घले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔँस सुनको मूल्य एक हजार ८८९ डलरमा कारोबार भइरहेको छ । अघिल्लो सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९१२ डलरमा कारोबार भएको थियो । गत शुक्रबारसम्म घटेर प्रतिऔँस एक हजार ८९२.२६ डलरमा झरेको थियो । लगानीकर्ता सुनमा आकर्षित हुन छाडेपछि मूल्यमा क्रमिक रूपमा गिरावट हुँदै आएको बताएको छ ।

मूल्यमा सामान्य गिरावट हुँदै आए पनि स्थानीय बजारमा सुनको कारोबार न्यून अवस्थामा रहेको छ । सिजन नभएको मलमासका कारण नयाँ गहना नकिन्ने हुँदा पनि कारोबार नभएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढेसँगै साउन र भदौ महिनामा चाडपर्व नभएका कारण पनि सुनको कारोबार ठप्प अवस्थामै रहेको व्यवसायीको भनाइ छ । सिजनका बेला दैनिक ३० देखि ४० किलो सुनको कारोबार हुने गरेकामा हाल मुस्किलले पाँच किलो कारोबार हुने गरेको व्यवसायीको भनाइ छ । तिज लागेसँगै सुनको कारोबार बढ्ने व्यवसायीले अनुमान गरेका छन् । यस्तै चाँदीको मूल्य स्थिर भई प्रतितोला एक हजार ३९० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

बजारमा कारोबार न्यून हुँदा सुनको पर्याप्त मौज्दात रहेको व्यवसायीको भनाइ छ । विभिन्न वाणिज्य बैङ्कले दैनिक १० केजीका दरले सुन आयात गर्दै आएका छन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको छ । आव २०७८÷७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको थियो ।