Sunday, November 23, 2025

२०८२ मंसिर ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बस्ती संरक्षण तथा नदी नियन्त्रणका ६ वटा योजना निर्माण सुरु


बस्ती संरक्षण तथा नदी नियन्त्रणका ६ वटा योजना निर्माण सुरु

म्याग्दी । म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर ६ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका छन् ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत कार्यान्वयन हुने उक्त योजनाहरुको कुल लागत अनुमान २० करोड २९ लाख ७६ हजार आठसय ३९ रुपियाँ छ । ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् ।   

नदी संरक्षणका आयोजनाहरु कार्यान्वयन गर्न ठेक्का सम्झौता भई निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको आयोजना कार्यालय पोखराका इन्जिनियर नरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

नदी कटानका कारण बजार तथा बस्ती जोखिममा परेकाले समयमै आयोजनाहरु सम्पन्न गर्न कार्यालयका तर्फबाट अनुगमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो ।

उहाँले दिएको जानकारी अनुसार बेनी नगरपालिका ७ स्थित जिल्ला प्रशासन कार्यालयको पछाडि म्याग्दी नदी किनारमा एकसय ६५ मिटर लामो कम्पोजिट पर्खाल निर्माणका लागि ५ करोड ९७ लाख ५० हजार ६ सय २४ रुपियाँ कुल लागत अनुमान गरिएकोमा ४ करोड २१ लाख ५९ हजार ६ सय ९९ रुपियाँमा ठेक्का सम्झौता भएको छ । 

उक्त आयोजना आगामी २०८३ असार २० गतेभित्र सम्पन्न गर्नेगरी रुपल सुप्रिम कन्स्ट्रक्सनसँग २०८२ बैशाख १० गते ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर गुरुङले जानकारी दिनुभयो ।

यसैगरी बेनी नगरपालिका ४ सिंगामा म्याग्दी नदी कटानबाट बस्ती संरक्षणका लागि ३ करोड ६८ लाख ८६ हजार चारसय ८६ रुपियाँ लागतमा एकसय दुई मिटर कम्पोजिट पर्खाल निर्माण गरिने भएको छ । उक्त आयोजना सम्पन्न गर्न आरआरसी जेमी जेभी सँग २०८३ असार २० गते सम्पन्न गर्नेगरी दुई करोड ७१ लाख आठसय ४४ रुपियाँमा २०८२ बैशाख १० गते ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर गुरुङले जानकारी दिनुभयो ।

म्याग्दीको रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर संरक्षणका लागि रघुगंगा र कालिगण्डकी नदीमा ५३ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिने भएको छ ।आयोजनाको दुई करोड १३ लाख ६६ हजार आठसय ७८ रुपियाँ कुल लागत भएकोमा एक करोड ४२ लाख ५३ हजार ६ सय ४६ रुपियाँमा  ठेक्का सम्झौता भएको छ । उक्त आयोजना आगामी २०८३ असार २५ गतेभित्र सम्पन्न गर्न २०८३ भदौं ४ गते गुरुङ बाजे मण्डली जेभीसँग ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

आयोजनाले पर्वतको कुश्मा नगरपालिका,४ स्थित अर्मादी र जलजला गाउँपालिकाको केन्द्र लामाखेत गरेर कालिगण्डकी नदीमा चार करोड ८३ लाख दश हजार ५ सय ६८ रुपियाँ लागतमा दुई स्थानमा गरेर एकसय २९ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्ने भएको छ । उक्त आयोजना सम्पन्न गर्नका लागि दुई करोड ९६ लाख ३४ हजार आठसय ३७ रुपियाँमा आगामी २०८३ असार २० गते भित्र निर्माण सम्पन्न गर्नेगरी नकुल बिआरटी शाय जेभीसँग ठेक्का सम्झौता भएको छ ।

यसैगरी आयोजनाले मुस्ताङको थासाङ,घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न बस्तीहरु संरक्षणका लागि ग्याबियन जाली,सिमेन्टेट पर्खाल र लञ्चिङ एप्रोन निर्माण गर्न ९६ लाख ६८ हजार ६ सय ७७ रुपियाँ लागत अनुमान गरिएको आयोजना ७४ लाख ४ हजार नौसय ६३ रुपियाँमा २०८२ असार २२ गते मनी कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता भएको छ । उक्त योजना आगामी २०८२ चैत २० गतेभित्र सम्पन्न गर्नुपर्ने आयोजना कार्यालय पोखराले जनाएको छ ।