काठमाडौं । वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खोलेको हो । हाल दैनिक १० किलोसम्म मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा यसलाई दोब्बर बनाइएको हो ।
नजिकिँदो चाडपर्वमा दैनिक १० किलोको कोटाले सुनको माग धान्न नसकिने भन्दै व्यवसायीहरुले आयातको कोटा बढाउन माग गर्दै आएका थिए । एकमुष्ट रुपमा आयात गर्दा आगामी दिनको आयात गर्न नपाइने र व्यतित भइसकेको महिनाको पनि आयात गर्न नपाइने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
तर एकै महिनामा कुनै दिनमा आयात नभएको सुन सो महिनाकै अर्को दिन भने आयात गर्न सकिने छ । वाणिज्य बैंकहरुले पालैपालो सुन आयात गरेर व्यापारीहरुलाई बिक्री वितरण गर्दै आएका छन् ।