काठमाडौँ — १७ अर्बको लागतमा भारतले दुई पेट्रोलियम पाइपलाइन र एक टर्मिनल बनाइदिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार समझदारी पत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल निर्माण गर्ने निर्णय भएको छ । त्यस्तै, मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको उनले जानकारी दिएका छन् ।
करिब १७ अर्ब रुपैयाँ को लागतमा यी तीन वटै परियोजना भारतले बनाइदिने कार्यकारी निर्देशक थानीले बताए । समझदारीपत्र अनुसार अबको ६ महिनाभित्र सबै गृहकार्य गरी करिब ५ वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने गरी समझदारी भएको उल्लेख छ ।