काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा रुट्स फेसन प्रालिविरुद्ध ४ करोड ३७ लाख मागदाबीसहित उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरेको छ । रुट्स फेसनले आयात गरेर वीरगन्ज भन्सारबाट भित्र्याएको जुत्ता, तयारी पोसाक लगायतका सामानको न्यून मूल्यांकन गरेर राजस्व छली गरेको अभियोगमा मुद्दा दायर भएको हो ।
विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार रुट्सका सञ्चालकहरु संजीव तुलाधर, देवेन्द्रप्रसाद श्रेष्ठ, सुनील महर्जन र प्रकाशरत्न कंशाकारसमेतलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको हो । उनीहरुविरुद्ध लगाइएको अभियोगमा सामान आयात गर्दा सरकारलाई नियमअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएको उल्लेख छ ।
विभागले आयातित सामानको बिगो २ करोड १८ लाख ५२ हजार ७ सय ७० कायम गरी सोही रकमको सतप्रतिशत जरिवानासमेत ४ करोड ३७ लाखको माग दाबी गरेको हो । मुद्दाका अनुसन्धान अधिकृत अधिकारीका अनुसार एडीडाज ब्राण्डको जुत्ता, जर्सी, कट्टुलगायतका मालवस्तु आयात गर्दा भन्सार मूल्यांकन न्यून गरेर राजस्व चुहावट गरेको दाबी गरिएको छ । छलीको बिगो र बिगोअनुसारको जरिवानावापत हुने रकम धरौटी राखेका कारण आयातकर्तालाई भने विभागले तारेखमा राख्दै आएको छ ।
विभागले आयतकर्तालाई जेल सजायको माग मुद्दाको आरोपपत्रमा गरेको छ । ऐन अनुसार ठहर भएमा १ देखि ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ । उक्त सामान गत वैशाखमा विभागमा दाखिला गरिएको थियो । अधिकारीका अनुसार अनुसन्धान विभागले चालु आवको सुरुको दुई महिना-हालसम्म राजस्व चुहावटको कसुरमा विभिन्न तहको अदालतमा ८ करोड ५६ लाख बराबर राजस्व छलीको मुद्दा दायर गरेको छ ।