काठमाडौँ । राष्ट्र बैंकले ऋण असुलीका नाममा लघुवित्तका कर्मचारीले ऋणीलाई डर, धम्की, अपमानलगायत कठोर विधि नपनाउन निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मंगलबार जारी गरेको संचालन मार्गदर्शनमा कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि नअपनाउन र तोकिएको मापदण्ड—आचरणहरू पालना गर्न निर्देशन दिएको हो ।
बैंकले ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग गर्न नहुने, ऋणीलाई अनावश्यक रुपमा फोन गर्न नहुने, ऋणीका परिवार, साथी एवं सहकर्मीलाई अपमान गर्न नहुने उल्लेख गरेको छ ।
त्यस्तै, ऋणी वा परिवारको सम्पत्ति वा मान—प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी हिंसाको धम्की दिन नहुने, ऋणीलाई ऋण नतिर्दा आउन सक्ने परिणामका बारेमा गलत सूचना दिन नहुने, ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह बैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र लगातार तीनपटक भन्दा बढी सम्बन्धित ठाँउमा अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यासलाई अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।