काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयोग हुने पानीको जार परीक्षण गर्दा एउटा कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ ।
महानगरले २५ साउनमा ५ वटा जार कम्पनीको पानीलाई नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो ।
मंगलबार आएको ल्याब रिर्पोटमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म (कोलिफर्म) देखिएको हो ।
‘सामान्यतया कोलिफर्म १ सय हुनुपर्नेमा उक्त जारमा ३ सय देखिएको छ । यसको अर्थ त्यहाँ दिसाजन्य पदार्थ मिसिएको छ । यसले के पुष्टि गर्छ भने यो जार कम्पनीले विना प्रशोधन बजारमा पानी बेचिरहेको छ,’ महानगरका एक अधिकारीले भने । सो कम्पनीलाई जरिबाना र कारबाही भने हुन बाँकी रहेको उनले बताए । यसअघि महानगरले अनुगमन गरेर फुटेको, कुच्चिएको, फोहोर जार बेच्ने कम्पनीलाई कारबाही गरेको थियो ।
यसअघि सिटी मिनरल वाटर एन्ड बेबरेज प्रालिले उत्पादन गरेको बोत्तलको पानीम किरा भेटिए पछि सो पानी बेच्ने अनामनगरको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई महानगरले २ लाख जरिबाना तिराएको थियो ।