Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

पहिलो पटक ढुवानी अनुदानमा हुम्लाका स्याउ जिल्ला बाहिर निर्यात गरिँदै


पहिलो पटक ढुवानी अनुदानमा हुम्लाका स्याउ जिल्ला बाहिर निर्यात गरिँदै

हुम्ला । हुम्लामा फलेका स्याउ पहिलो पटक ढुवानी अनुदानमा जिल्ला बाहिर ढुवानी हुने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले हुम्लामा फलेका स्याउ ढुवानी अनुदानमा जिल्ला बाहिर निकासी गर्न लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) का कार्यालयले जनाएको छ ।

यस वर्ष पहिलो पटक २० टन हुम्लाका स्याउ ७५ प्रतिशत ढुवानी अनुदानमा (स्याउ जोन)को सहयोगमा जिल्ला बाहिर निकासी गर्न लागेको कार्यालय प्रमुख विष्णुबहादुर मग्रातीले बताए । अहिले सिमकोटबाट नेपालगञ्जको ढुवानी दर प्रतिकेजी ६० रुपैयाँ पर्छ जसमा ४५ रुपैयाँ परियोजनाले अनुदान दिने र प्रतिकेजी १५ रुपैयाँ किसान आफैले ढुवानी तिर्नु पर्नेछ । किसानले उत्पादन गरेको स्याउको बारीमै खेरजाने भएकाले यसको बजारीकरणका लागि यो ढुवानी अनुदानको व्यवस्था गरिएको उनको भनाई छ ।

हुम्ली किसानले फलाएका स्याउ जिल्ला बाहिर निकासी गर्न परियोजनाले दस लाख रुपैयाँ लगानी गर्ने भएपछि जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थिति स्याउ जिल्ला बाहिर निकासी गर्न ढुवानी अनुदान दिने व्यवस्था गर्ने निर्णय गरेको हो । परियोजनाले ढुवानी अनुदान दिने भएपछि कात्तिक महिनामा बोटबाट टिपेको स्याउ गुणस्तरीय हुने भएकाले कात्तिकमा टिपेको स्याउलाई मात्र ढुवानी अनुदान दिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लाको उत्तरी भेगका ३ वटा गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथमा असोज महिनासम्म स्याउ काँचै हुने कात्तिकमा मात्र पाक्ने भएकाले स्याउ काँचो नहोस् र गुणस्तरीय स्याउ बजारमा बिक्री गर्नका लागि यो नियम लागू गरिएको पनि प्रमुख मग्रातीले बताए । अब कात्तिकमा टिपेको स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ ।

गाउँमा प्रतिदाना पाँच रुपैयाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना १० रुपैयाँमा स्याउ बिक्री हुने गरेको छ । यो मूल्य सिजन र बेसिजन पनि उस्तै हुने गरेकाले यसका लागि ६ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र ६ भन्दा बढी दाना प्रतिकेजीमा गए बिग्रेड निर्धारण गरिएको छ । यो मूल्य सदरमुकाम सिमकोटका लागि लागू गरिएको उनले बताए । यसअघि दानाका हिसाबले बिक्री भइरहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आएपछि जिल्लामा स्याउको मूल्य तोकिएको हो ।