काठमाडौँ — राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य उमाशंकर प्रसादले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । केही समयअघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो ।
नवनियुक्त सदस्य उमाशंकरको शपथसँगै आयोगले पूर्णता पाएको छ । रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बिमा बोर्डको पूर्वअध्यक्ष समेत हुन् ।