काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच आज सोमबार बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने सम्भावना छ ।
औद्योगिक पार्क निर्माणका विषयमा पनि चिनियाँ पक्षसँग वार्ताको एजेन्डा छ । प्रधानमन्त्री दाहालले आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट र चीनसँग हुने सम्भावित साझेदारी एवं सम्झौता हुने क्षेत्रका विषयमा बोलेका थिए । हाङचउ सहरमा शनिबार चिनियाँ राष्ट्रपति सीसँगको बैठकपछि प्रधानमन्त्री दाहाल आइतबार बेइजिङ पुगेका हुन् ।
दाहाल र छ्याङबीचको भेटवार्तामा सोमबार व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने तयारी छ । कति विषय नेपालले प्रस्ताव गर्ने भन्ने विषयमा अन्तिम टुंगो लागिनसकेको भ्रमण टोलीमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । राष्ट्रपति सीसँग सहयोगका विषयमा सैद्धान्तिक सहमति भएको र प्रधानमन्त्री लीसँग बेइजिङमा हुने वार्तामा त्यस विषयमा ठोस सहमति हुने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालको भ्रमणअघि भौतिक पूर्वाधार, ऊर्जा, सञ्चार, कृषि, उद्योग, शिक्षा र पर्यटन मन्त्रालयले विभिन्न विषयमा प्रस्ताव तयार पारेका थिए । जसमा खाँदबारी किमाथांका सडक निर्माण, धुलिखेल–तातोपानी सडक स्तरोन्नति, खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडक निर्माण, सिमकोट–हिल्सा सडक स्तरोन्नति र टोखा–छहरे सुरुङमार्ग विस्तृत परियोजना प्रतिवेदन डीपीआर थियो ।
ऊर्जा मन्त्रालयले रसुवागढी–जिलोङ र किमाथांका–चीन प्रसारणलाइन र काठमाडौं उपत्यका विद्युत् सुधारमा सहायताको प्रस्ताव गरेको थियो । उद्योग मन्त्रालयले भने मुस्ताङको कोरला, हुम्लाको यारी र संखुवासभाको किमाथांकामा एकीकृत जाँच चौकी, नेपाल–चीन पारवहन सम्झौता कार्यान्वयन, गोरखा, दार्चुला र बझाङमा थप नाका खोल्नेसहितका विषय अघि सारेको थियो ।
नेपाल र चिनियाँ प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ताअघि सोमबार प्रधानमन्त्री दाहाललाई तियानमेन स्क्वायरमा औपचारिक स्वागत गर्ने कार्यक्रम छ । चिनियाँ प्रधानमन्त्री लीले वार्तापछि नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोज आयोजना गर्दै छन् । प्रधानमन्त्री दाहालले सोमबार नै बेइजिङस्थित नेसनल पिपल्स कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री दाहालले बेइजिङ रिसर्च इन्स्टिच्युट भ्रमण पनि गर्दै छन् ।
बुधबार बेइजिङबाट छोङछिङ जाने
राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट दाहाल १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन शनिबार हाङचउ पुगेका थिए । उद्घाटनको साइडलाइनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता भएको थियो, जहाँ दाहालले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने प्रस्ट्याएका थिए ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री दाहालले राष्ट्रपति सीले अघि सारेका विभिन्न अवधारणालाई समर्थन गर्ने बताएका थिए । दाहालले विकासशील राष्ट्रहरूको साझा स्वार्थको संरक्षण गर्न र मानव जातिको साझा भविष्यको समुदाय विकास गर्न आफूले चीनसँग मिलेर काम गर्न चाहेको दाहालको भनाइ थियो । राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धलाई अति महत्त्व दिएको पनि दाहालले बताएका थिए ।
प्रधानमन्त्री दाहालले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपाल उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको ‘चीन–नेपाल लगानी सम्मेलन’ लाई पनि सम्बोधन गरे । उक्त अवसरमा लगानीको वातावरण सुधार हुँदै गएकाले नेपालमा लगानीका लागि धेरै क्षेत्र आकर्षक रहेको उनको भनाइ छ ।
तसर्थ चिनियाँ उद्यमीलाई नेपालमा लगानी बढाउन उनले आग्रहसमेत गरे । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले उनीहरूको प्रवर्द्धनमा सरकार सधैं तत्पर रहेको पनि उनले जनाए । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल चीनको कृषि तथा औद्योगिक विकासको अवलोकनका लागि छोङछिङ नगरपालिकाका साथै नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासा पनि जाने कार्यक्रम छ । उनी असोज १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।