चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन् । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई बुधबार माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताएका हुन् ।
’यो मेरो मात्रै नभइ सरकारको पनि संकल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भने । यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गरे ।
भ्रष्टाचारविरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उनले भने, ‘हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौं ।’ ‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वाभाविक भए पनि सरकार भ्रष्टाचारविरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।
सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गरे । देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए ।