पर्वत । पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो । पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाको अघिल्लो गाउँसभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निर्णय पारित भएको थियो ।
छिमेकी जिल्ला स्याङ्जा र कास्कीमासमेत घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रीवितरण गरिरहेको अवस्थामा महाशिलाले पनि कार्यक्रम अघि बढाएको अध्यक्ष भुसालले बताए । घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आरुबखडालगायत विभिन्न जातका अन्न तथा फलफूलबाट उत्पादन गर्ने गरिएको छ । महाशिलामा उत्पादनका आधारमा कोदो बढी उत्पादन हुने अन्न हो । यसलाई ब्रान्डिङ गर्दा उपयुक्त हुने निष्कर्षका साथ अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।
गाउँपालिकामा कोदोको बढी सम्भावना भएकाले कोदोको मदिरालाई प्राथमिकता दिएर अनुसन्धान गरिएको अध्यक्ष भुसालले बताए । सर्च नेपालले गरेको उक्त अनुसन्धानमा कोदोको गुणस्तरीय मदिरा सङ्कलन गरिएको र नमुना सङ्कलनका लागि सबै वडामा तामाका भाँडा प्रयोग गरी मदिरा बनाइएको छ ।
घरेलु ज्ञान, सीप र प्रविधि प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध हुने कोदोबाट एकदेखि सातपाने र मिश्रित एकदेखि सातपानेसम्मको गुणस्तरीय मदिरा सङ्कलन गरी नमुना ल्याब परीक्षणका लागि पठाइएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका छुट्टाछुट्टै बस्ती र समुदायमा तयार गरिएको मदिराको छुट्टाछुट्टै नमुना सङ्कलन गरिएको छ ।
सङ्कलन गरिएका नमुनामा अल्कोहलको मात्रा पत्ता लगाएर खानयोग्य मदिरामा अल्कोहलको मात्रा खुलाई ब्रान्डिङ गर्न सिफारिस गरिने सर्च नेपालले जनाएको छ । ब्रान्डिङ भए पनि अहिले अवैधरुपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थितरुपमा उद्योग सञ्चालन गरी उत्पादन अनुमति प्रदान गरिने भएको छ । महाशिला गाउँपालिकाका छवटै वडामा लुकिछिपी घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । यसको ब्रान्डिङ गर्नसकेमा पालिकाको राजस्वमा वृद्धि हुनुका साथै स्वरोजगारका अवसर वृद्धि हुने पालिकाको विश्वास छ ।