काठमाडौं । संविधानको अन्तिम विकल्प प्रयोग गरेर कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त गरिँदै छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा अपरान्ह ५ बजे सकिँदै छ। दिएको समयभित्र नै मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ।
कोसीमा यसअघि संविधानका सबै उपधाराको प्रयोग गरेर सरकार गठन भइसकेको छ। प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार दाबी पेस गरेका छन्।
काठमाडौंमा बिहीबार बसेको गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। गठबन्धनको निर्णयविपरीत कांग्रेसको संस्थापनइतर र नेकपा एमालेका प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले मुख्यमन्त्री दाबी गरेका हुन्।