काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूलाई एकढिक्का भएर बजेटको प्रतिरक्षा गर्न निर्देशन दिएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित रहेको बजेटको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले आएको बजेट जनमुखी छ । आशामुखी छ अब यसको कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्छ । तपाईंहरुले पनि आआफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुस्।’
प्रधानमन्त्रीले समाजवादको आधार तयार पार्न उत्पादन वृद्धि र उत्पादकत्व वृद्धितर्फ बजेट ढल्किनु सकारात्मक भएको बताए । त्यस्तै बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र वस्तुगत भएको टिप्पणी गरेका थिए ।
आर्थिक सुधारको अवधारणासहित समाजवादउन्मुख बजेट ल्याएको अर्थमन्त्री पुनको भनाइ थियो ।