काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको जनाएको छ । यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको छ ।
नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रम अन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रम अन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको हो ।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा काठमाडौँ प्लाजामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराए थिए ।
सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ । १.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ ।
यस अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ । समितिको बैठकमा ६ वटा विभागका प्रमुखहरुले विषयगत समितिका संयोजकहरुको रोहबरमा अहिलेसम्मको प्रगति पेश गर्दै चालु आर्थिक वर्षको बाँकी समयमा कार्यान्वयनमा लैजान नसकिने कार्यक्रम र यसको सट्टा सञ्चालन गर्न सकिने प्रस्तावित कार्यक्रमका बारेमा प्रस्तुतिकरण गरिसक्नु भएको छ ।