काठमाडौं, भदौ १ । प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिक उत्सव समारोहमा बोल्दै कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडि बढाइने बताएका हुन् । सो आयोजनाको ठोस रूपमा अध्ययन प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
त्यसैगरी १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडि बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको प्रधानमन्त्री दाहालले बताए । उनले आन्तरिक विद्युत् खपतको वृद्धि गर्दै र विद्युत् निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।
योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा आगामी दिनमा १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेगावाट क्षमताको बहुआयामिक कर्णाली– चिसापानी जस्ता ठूला जलविद्युत् आयोजनाहरुको निर्माण अघि बढाउने सोच र योजनाका साथ नेपाल सरकार अघि बढिरहेको अवस्था तपाईहरुसँग राख्न पाउँदा मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ, प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए ।