गण्डकी, ४ साउन । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन गन्धर्व नाटक घरको स्टेजमा ‘करेसा कन्सर्ट’ नाटक गर्ने भएका छन् ।
करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ ।
नाटकमा विद्यार्थीहरुले विभिन्न तरकारी तथा फलफूलको भूमिका निर्वाह गरी अभिनय गरेका छन् । यसका लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ ।
केदार श्रेष्ठद्वारा लिखित उक्त नाटक अञ्जु दाहालको निर्देशनमा तयार पारिएको हो । लेखक श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार गरेको बताउनुुभयो । निर्देशक दाहालले विद्यार्थीलाई करेसाबारीबारे जान्न र बुझ्न नाटक महत्वपूर्ण हुने बताउनुुभयो ।
‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको उक्त नाटक आमदर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’मार्फत पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन गरिने भएको छ ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागि समेत उत्तिकै महत्वपूर्ण रहेकाले पब्लिक सोको रुपमा मञ्चन गर्न लागिएको जानकारी दिनुुभयो ।