काठमाडौं,१५ असार । आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनदिने आज अन्तिम रहेको छ । असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिने सकिने छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको हो । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।