Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आधा नै घट्यो अण्डा उत्पादन


आधा नै घट्यो अण्डा उत्पादन

काठमाडौं । कोरोना संकट र रुस युक्रेन युद्धपछि सुरु भएको आर्थिक मन्दीका कारण कुखुराको अण्डा उत्पादन व्यवसाय खस्कँदै गएको छ । २७ औं विश्व अण्डा दिवस मनाउन जुटिरहेका अण्डा उत्पादक व्यवसायीहरु लागतअनुसार मूल्य नपाएको गुनासो गर्छन् ।

उनीहरुका अनुसार उत्पादन सरदर आधा नै घटिसकेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल मुलुकमा कोरोना महामारी अघिसम्म दैनिक ५० देखि ५५ लाख वटा अण्डा उत्पादन हुने गरेकोमा हाल ३० लाख उत्पादन भइरहेको बताउँछन् । लेयर्स कुखुरा नेपालमा अण्डाका लागि पाल्ने गरिन्छ । अहिले एक क्रेट अर्थात् ३० वटा अण्डाको मूल्य उत्पादकहरुले ३ सय ४० देखि बढीमा ३ सय ६० रुपैयाँसम्म पाएको उनले बताए । तर उपभोक्ताले एउटा अण्डाको २० रुपैयाँ तिर्नु परिरहेको छ । केही दिनअघि एक क्रेट अण्डाको ४ सय ५० रुपैयाँसम्म पुगेको थियो । त्यो बेला खुद्रा मूल्य पनि बढ्यो । तर किसानले पाउने अण्डाको मूल्य ओरालो लागे पनि उपभोक्ता मूल्य घटेको छैन ।

चार वर्षअघि अण्डा उत्पादकले पाउने मूल्य क्रेटको ४ सय १० रुपैयाँसम्म पुगेको थियो । ‘त्यो बेला लागत मूल्य पनि अलि सस्तो थियो । एउटा अण्डा उत्पादन गर्दा साढे ११ रुपैयाँसम्म पर्न आउँथ्यो । त्यो बेला ४०र४५ रुपैयाँ किलोमा पाइने दाना अहिले ६५र७० रुपैयाँसम्म पुगेको छ‚’ लेयर्स कखुरापालक संघका अध्यक्ष पोखरेलले भने । अहिले एउटा अण्डाको लागत मूल्य साढे १६ रुपैयाँ पर्न आउने उनले बताए । लागत मूल्यभन्दा साढे चार रुपैयाँ कममा अण्डा बिक्री भएको दुखेसो उनले पोखे । ‘मूल्य सुधार त हुँदै थियो तर अहिले हामीले किन्ने धेरै वस्तु नगदमा नै कारोबार हुन्छ । उधारो पाइँदैन ।

अग्रिम दिनुपर्नेसम्म भएको छ । त्यसैले के कसरी हुन्छ नगद हात पार्न खोज्दा अस्वस्थ प्रतिस्पर्धा पनि भयो र फेरि मूल्य घट्यो‚’ पोखरेलले भने । बैंकको किस्ता र ब्याज तिर्नुपर्ने थप बाध्यता पनि भएपछि जे जति आउँछ नगद लिएर बेच्न थालेको उनले बताए । चल्ला उत्पादन र चल्ला बिक्री पनि घटेको व्यवसायीहरु बताउँछन् । ‘भन्न अलि नमिठो लाग्छ तर उपभोक्ता र उत्पादक मारमा नै छन् । यो बीचकाहरुले अझै पनि फाइदा लिइरहेका छन्‚’ नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने । नेपालमा लेयर्सका चल्ला उत्पादन गर्ने हृयाचरीहरु १५ वटासम्म पुगेका थिए ।

अहिले पाँचवटामा सीमित भएको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोखरेलले बताए । लेयर्सका चल्ला हप्तामा तीन लाख वटासम्म उत्पादन हुन्थे । अहिले घट्दै गएर सवा लाखसम्म उत्पादन हुने गरेको उनको भनाइ छ । कुनै बेला लेयर्सको चल्लाको मूल्य प्रति गोटा २ सय ५ रुपैयाँसम्म पुगेको थियो । अहिले बढीमा सय रुपैयाँमा बिक्री भएको उनले बताए । आर्थिक मन्दीले उपभोग बढ्न नसक्दा त्यसको असर उत्पादनमा परेको हो । उपभोक्तालाई सचेत गराउन विश्व अण्डा दिवसमा नेपाल भेटेरीनरी एशोसिएसनसँग मिलेर लेयर्स कुखुरापालक संघले चितवन र देशका विभिन्न ठाउँमा कार्यक्रमहरु गर्दैछन् ।