काठमाडौं,१ साउन । वाणिज्य बैंकहरुले आजबाट लागुहुनेगरि नयाँ ब्याजदर तोकेका छन् । असार महिनासम्म नेपाल बैंकर्स संघले गरेको सहमति अनुसार ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले साउन महिनादेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् । असार महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार एमएबि बैंकले अन्य बैंकहरुभन्दा बढी ब्याज दिने भएको छ, भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भएको छ ।
यस दिन प्रकाशित सुचना अनुसार एमएबि बैंकले सर्वाधिक १०.९८ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। त्यसैगरी, बैंकले २ वर्षदेखि १० वर्ष अवधिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको निक्षेपमा ९.५० प्रतिशत ब्याज दिने भएको छ ।
त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक, र कुमारी बैंकले १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् । प्राइम कमर्सियल बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले असार महिनामा नै ब्याजदर घटाएको थियो। अधिकांश बैंकहरुले ९.९९ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको बेला यस बैंकले भने अधिकतम ब्याजदर १ प्रतिशतविन्दु घटाएर ८.९९ प्रतिशतमा झरेको थियो । नेपाल बैंकर्स संघले तरलता कम हुन थालेसँगै बैंकहरुविचको अस्वस्थ प्रतिस्पर्धा घटाउन भन्दै भद्र सहमति गरेको थियो । सो पश्चात जेठसम्म बैंकर्स सँघकै निर्णयमा बैंकहरुले ब्याजदर तोक्दै आएका थिए । अहिले सबै बैंकले एकैखाले ब्यादर भएकोले वित्तीय क्षेत्रमा प्रतिस्पर्धा हुन नसकेको चर्चा भइरहेको अवस्थामा यसले बैंकहरुबीचको प्रतिस्पर्धालाई समेत बढाउने छ ।