काठमाडौं । कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था सिलबन्दी भएको छ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको भएको करिब दुई सातापछि कार्यालयमा सिलबन्दी गरिएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी सहितको टोलीले सहकारीको कार्यालयमा सिल लगाएको हो । बचतकर्ता प्रहरी सहितको उपस्थितिमा समितिले मुचुल्का बनाइ सिल गरेको हो ।
मुचुल्कामा भनिएको छ,“काठमाडौं जिल्ला कीर्तिपुर न.पा. ९ नगाउँ ठेगाना भई सोही स्थानमा संचालनमा रहेको दर्शन वचत तथा ऋण सहकारी संस्था लि. (दर्ता नं. ३३३१÷०६७।०६८) लाई बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको पत्र संख्या २०८१।८२ चलानी नं. २५९ मिति २०८१।७।१२ को पत्र अनुसार समस्याग्रस्त सहकारी घोषित गरेकोले प्रक्रिया अघि बढाउनुभनि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगर काठमाडौं निर्देशन प्राप्त भएकोले सो दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को सम्पत्ति तथा दायित्वलाई व्यवस्थापन गर्ने प्रयोजनार्थ व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी सदस्य यज्ञनाप दाहाल तथा सदस्य सचिव महेश आचार्य लगायत अन्य कर्मचारीहरु समेत एवं कीर्तिपुर प्रहरी वृत्तबाट सुरक्षाकर्मी र सो सहकारीका वचतकर्ताहरु तथा अन्य स्थानीय व्यक्तिहरुको उपस्थितिमा उक्त सहकारी संस्थाको कम्पाउण्डमा प्रयोग गरिएको मूल गेटको ताला फोडिएको र भित्री भवनको ढोकामा हालको लागि स्वस्तीक छापबाट सिलछाप गरी बाहिर कम्पाण्डको गेटमा ताला लगाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अधिनमा ल्याउने प्रारम्भिक प्रक्रिया बढाउने कार्यका लागि यो मुचुल्का तयार गरी सहीछाप गरिदिया ।
इति सम्बत २०८१ साल कार्तिक २३ गते रोज ६ ।”लामो समय सहकारीले बचत फिर्ता नदिएको भन्दै केहि बचतकर्ताहरुले प्रदेश महाशाखामा उजुरी दिएका थिए । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो । बागमती प्रदेशको सहकारी महाशाखाका अनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको जनाएको छ ।