काठमाडौं । भन्सार विभागले यहि साउन एक गतेदेखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने जनाएको छ ।
आर्थिक ऐन २०८० प्रावधानलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय, भन्सार विभागले सबै पैठारीकर्ता र बजार वितरकलाई सो जानकारी सूचित गरेको हो ।
बजारमा आउने हरेक वस्तुको उत्पादन भएको मुलुक र यसको वितरणकर्ताबारे उपभोक्तालाई जानकारी होस् भन्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट यस्तो लेबल अनिवार्य गरिएको विभागका निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिएको छ ।
आर्थिक ऐनको भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ अनुसार १ साउन २०८० पछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणमा पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनु पर्नेछ । यसरी लेबल नगरी बजारमा बिक्री वितरणका लागि पठाइएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्ने बताएको छ ।
भन्सार विभागका अनुसार अब हरेक लेबलमा पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगाना/वेवसाइट र एक्जिम कोड समेत राख्नुपर्नेछ । मालवस्तु पैठारी भएको अवस्थामा बजारमा बिक्री वितरणका लागि पठाउनु अघि लेबल अनिवार्य लगाउनु पर्नेछ । लेबल अंग्रेजी वा नेपाली भाषामा लगाउनु पर्नेछ । तर, उद्योगको कच्चा पदार्थका रुपमा पैठारी हुने मालवस्तु, औद्योगिक मेसिनरी तथा उपकरण र निर्माण कार्यमा प्रयोग हुने संरचना जस्ता वस्तुमा भने यस्तो लेबल आवश्यक नपर्ने विभागले जनाएको छ ।
आम उपभोक्तामा प्रत्यक्ष रुपमा बिक्री वितरण हुने सबै प्रकारका मालवस्तुमा यो लेबल सरकारले अनिवार्य गरेको छ । लेबलको दुरुपयोग हुन नदिन पैठारीकर्ता र वितरकले लेबल लगाएर पठाएको मालवस्तुको अभिलेख सुरक्षित समेत राख्नुपर्ने नियम बनाएको छ ।