काठमाडौं । एक वर्ष नेपालमा बस्नका लागि २ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार अहिले ७४ देशका नागरिक नेपालमा अनुमति लिएर बसिरहेका छन् । विभागका अनुसार २०८१-८२ मा ७ सय जना विदेशीलाई नेपालमा बस्नका लागि श्रम इजाजत दिइएको छ भने १ हजार ६ सय जना पहिल्यैदेखि नेपालमा बस्दै आएका विदेशीले श्रम इजाजत नवीकरण गरेका छन् ।
भारत, चीन, अमेरिकालगायतका देशका नागरिक नेपालमा श्रम इजाजत लिएर बसिरहेका छन् । उनीहरू पूर्वाधार निर्माणदेखि व्यवसायजन्य कार्यमा संलग्न छन् । श्रम ऐनले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । विशिष्ट प्रकारको दक्ष प्राविधिक पदमा बढीमा १२ वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्ने व्यवस्था छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्राविधिक निर्देशक मणिनाथ गोपका अनुसार नेपालमा स्वीकृति लिएर बस्नेहरू भन्दा पनि नलिई बस्ने भारतीयको सङ्ख्या धेरै छ । खुला सीमानाका कारण भारतबाट ठूलो सङ्ख्यामा आएर नेपालको श्रमबजारमा उनीहरू क्रियाशील छन् । सरकारले अहिलेसम्म यसबारे रेकर्ड राख्न सकेको छैन ।
अमेरिकी अनुसन्धान संस्था पियु रिसर्चले गरेको एक अनुसन्धानमा नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजाने गरेको देखिएको थियो ।