Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्रीद्वारा ५ अर्ब ९४ करोडको लागतमा निर्माण गरिएको हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन


प्रधानमन्त्रीद्वारा ५ अर्ब ९४ करोडको लागतमा निर्माण गरिएको हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन

काठमाडौं । नयाँ भरतपुर सबस्टेसन परिसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले ५ अर्ब ९४ करोडको लागतमा निर्माण गरिएको हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन गरेको छ । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण गरिएको हो ।

सबस्टेसनको लागत १ अर्ब ५२ करोड र प्रसारणलाइनको लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । प्रधानमन्त्री दाहालले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइन पूर्वपश्चिम विद्युत आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताए । प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत यहीं खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र अतिरिक्त भएको विद्युत निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले जलविद्युत तथा प्रसारणलाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौज्जुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिन लागिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस प्रसारण तथा वितरण लाइन निर्माणले मुलुकको समग्र विद्युत आपूर्तिमा सुधार हुने बताए । उद्घाटन गरिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारणलाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो । मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारणलाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ । प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारणलाइन निर्माण भइरहेको छ भने दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ र अन्य सबस्टेसनहरु निर्माणाधीन अवस्थामा छन् ।