Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नक्कली भ्याटबिल प्रकरणका १० वटा मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश


नक्कली भ्याटबिल प्रकरणका १० वटा मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याटबिल प्रकरणसँग जोडिएका १० वटा मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले नेपाल ल्युब आयल र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी, हेटौंडा जोडिएको नक्कली भ्याटबिलको मुद्दा पूर्ण इजलासमा पठाउने भनी आदेश गरेको हो ।

सर्वोच्च अदालतले २५ पुसमा यो मुद्दामा निर्णय सुनाउने भनी बिहीबारको मिति तोकेको थियो । अब यो मुद्दा कम्तिमा पनि तीन न्यायाधीश संलग्न हुने इजलासमा पेश हुनेछ ।

सर्वोच्च अदालतले गत मंसिरमा मात्रै झूटा वा नक्कली बिलबिजक बनाएको तथ्य अदालतबाटै पुष्टि भएपछि जालसाजी गरेको अर्को प्रमाण खोजिरहन नपर्ने भनी नजीर प्रतिपादन गरेको थियो ।

२०६६ सालको बहुचर्चित नक्कली भ्याटबिल प्रकरणका करिब आधा दर्जन बहुचर्चित मुद्दा टुंग्याउदै सर्वोच्च अदालतले अरु मुद्दामा पनि मार्गदर्शन हुने गरी नजीर प्रतिपादन गरेको हो ।

नक्कली भ्याटबिल प्रकरणमा मुछिएका कम्पनीहरूले विभिन्न सामान खरिद गरेको भनी नक्कली फर्म र कम्पनीहरूका बिल पेश गरेका थिए । पछि उनीहरूले आफूले सामान ल्याएका ती फर्म र कम्पनी देखाउन सकेनन् । सामान ल्याएका कम्पनीहरू बेवारिसे भएकै कारण बिलबिजकलाई अमान्य दाबी गर्न नमिल्ने जिकिर गरेका थिए ।

करिब १३ वर्षअघि नक्कली भ्याटबिलको विषयमा अनुसन्धान हुँदा ५ सय १८ वटा कम्पनी संलग्न भएको खुलेको थियो । त्यतिबेला ३ अर्ब ७ करोड भ्याट, ३ अर्ब ३३ करोड आयकर अनि २० करोड ५० लाख रुपैयाँ अन्तःशुल्क गरी कूल ६ अर्ब ५९ करोड रुपैयाँ कर र जरिवाना निर्धारणसँग जोडिएका कर विवादहरू राजश्व न्यायाधीकरण हुँदै सर्वोच्च अदालत पुगेका हुन् ।