काठमाडौं । ट्रंकलाइन विद्युत् बक्यौताका नाममा नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न थालेको भन्दै भैरहवा क्षेत्रका २१ वटा उद्योग आइतबारदेखि संयुक्त आन्दोलनमा सुरु गरेका छन् । व्यवसायीले यस क्षेत्रका कुनै पनि उद्योगले डेडिकेटेड र ट्रंकलाइनको माग नै नगर्दासमेत प्राधिकरणले ट्रकंलाइनबापतको बक्यौता छुट बिल भन्दै जबर्जस्ती लाइन काट्न थालेको आरोप लगाएका छन् ।
भैरहवा–बुटवल ओद्यौगिक करिडोरअन्तर्गत ट्रंकलाइन विवादमा परेका १९ वटा र लुम्बिनी औद्यौगिक करिडोरका दुई उद्योग गरी २१ वटा उद्योग सञ्चालक र उद्योगमा कार्यरत कर्मचारीले आइतबार बिहान भैरहवास्थित प्राधिकरणको वितरण केन्द्र गेटअगाडि एक घण्टा धर्ना दिँदै आन्दोलनको सुरु गरिएको घोषणा गरेका हुन् । उनीहरूको आन्दोलनलाई स्थानीय उद्योग वाणिज्य संघहरू, उद्योग परिसं लगायतका औद्योगिक तथा व्यावसायिक संघ संस्थाले साथ दिएका छन् ।
प्राधिकरणले त्यस करिडोरअन्तर्गत रहेको सिद्धार्थ पेट प्लास्ट र घराना फुड्स प्रालिको लाइन गत पुस १३ गते काटेपछि गत बुधबार ट्रंकलाइन विवादमा परेका अन्य १७ वटा उद्योगसमेतले संयुक्त रूपमा प्राधिकरणको भैरहवा र नयाँमिल वितरण केन्द्रमा संयुक्त रूपमा ज्ञापनपत्र दिँदै बिनासर्त जडान गरिनु पर्ने माग राखेका थिए ।
शुक्रबारसम्ममा लाइन नजोडिएमा आइतबारदेखि २१ वटै उद्योग एकैसाथ बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका थिएका थिए । ट्रंकलाइन र डेडिकेटेड विद्युत् लाइनको विषयलाई लिएर विद्युत् प्राधिकरण र व्यवसायीबीच हाल उत्पन्न विवाद समाधानका लागि सरकारले उच्चस्तरीय एक छानबिन आयोग गठन गरिनु पर्ने माग व्यवसायीले राखेका छन् । धर्ना कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समिति सभापति राजेश कुमार अग्रवालले तत्काल बिजुलीको लाइन दिनुपर्ने माग गरे । उनले यो समस्या समाधानका लागि सरकारले आयोग गठन गर्नुपर्नेसमेत माग गरे ।