काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५.१३ अंकले बढेर दुई हजार ६६.०५ बिन्दुमा कायम भएको छ ।
आज एक सय पाँच कम्पनीका सेयरको मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज ५५ लाख तीन हजार कित्ता सेयर दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ ।
कारोबार रकममा भने आज वृद्धि भएको छ । बुधबार एक अर्ब ८७ करोडबराबरको सेयर किनबेच भएको थियो । यस दिन नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहमा गिरावट आएको छ भने बाँकी उपसमूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै वित्त उपसमूह ०.३९ प्रतिशतले घट्दा होटेल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ ।
आज अभियान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरेका छन् । उक्त कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ । त्यसैगरी, सिँगटी हाइड्रो इनर्जी र श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य क्रमशः ७.४९ प्रतिशत र ६.५५ प्रतिशतले बढेको छ । यता, हिमालयन लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.५३ प्रतिशतले घटेको छ ।