काठमाडौं ४, साउन । सुन तस्करीमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई कारबाही गरिएको छ भने एक जनालाई निलम्बन गर्न सिफारिश गरिएको छ ।
भन्सार विभागले विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा कुमार ढकाल र भन्सार अजेन्ट यादव पराजुलीलाई निलम्बन गरेको हो । त्यस्तै, भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिश गरेको छ ।
सुन आउने वेला ड्यूटीमा रहेका तीनै जनालाई कारबाही अगाडि बढाइएको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । “विभागले निलम्बन गर्न सक्ने सुब्बा र भन्सार अजेन्टलाई निलम्बन गरिएको छ, अधिकृतलाई विभागबाट गर्न नमिल्ने भएकाले निलम्बन गर्न मन्त्रालयलाई सिफारिश गरिएको हो ।”उनले भने ।
भन्सारबाट पास गराउँदा बनाइएका कागजात अनुसार भन्सार अधिकृत चन्द, सुब्बा ढकाल र भन्सार अजेन्ट यादव ड्यूटीमा थिए। कागजातमा भन्सार अधिकृत यादवको हस्ताक्षर रहेको पाइएको छ ।
साउन ३ गते साँझ मोटरसाइकल र स्कूटरको ‘ब्रेक शू’ मा राखेर १०० किलो सुन ल्याइएको थियो। हङकङबाट आएको सुनलाई विमानस्थल भन्सार कार्यालयबाट गेट पास गरेर बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।