काठमाडौं । कीर्तिपुर नगरपालिका वडा—५ का स्थानीय विदुर महर्जनले आफ्नो जग्गा हुदैं राराहिल—जाखा सडक १४ फिट निर्माण गरिएको भनि वडा अध्यक्ष र उपभोक्ता समितिले झुट्टा विवरण पेसगरि आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा दिएको निवदेन सार्वजनिक भयो । कीर्तिपुर नगरपालिका वडा नं.५ को कित्ता नं.६९४ को जग्गा भएर गएको बाटोमा कुनै काम नभएको भन्दै परेको निवेदनका विषयमा विजनेस दर्शन डटकमले सामाचार प्रकाशित गरेको थियो । सोहि समाचार तयार पार्दा वडा अध्यक्ष राजेन्द्र कुमार महर्जनलाई फोन सम्पर्क गर्दा फोन उठेन, सोहि निवेदनका आधारमा समाचार तयार भएको थियो ।
सो निवेदन विजनेस दर्शनका सल्लाहकार बरिष्ठ पत्रकार नजरराम महर्जनले सामाजिक सञ्जालमा गरेको पोष्टको विषयमा आज वडा कार्यालयले विज्ञप्ती जारी गरेको छ । घटनालाई ढाकछोप गर्न वडा कार्यालयनै विज्ञप्ती जारी गर्नु न्याय संगत नहुने कतिको भनाई छ । समाचारमा चित्त नबुझे सम्बन्धी निकाय प्रेस काउन्सिल, सुचना विभागमा निवेदन दिन सकिने व्यवस्था भए पनि राजनीतिक पुर्वाग्रहीराखि पत्रकारमाथि दोष लगाउन पाइन्छ ? बरिष्ठ पत्रकार महर्जनले भने ।
हामी स्वतन्त्र पत्रकार हौं अख्तियारले दर्ता गरेको निवेदनलाई समाचार बनाई प्रकाशित गर्न कानुनले नरोक्ने उनको भनाई छ । निवेदनकर्ता विदुर महर्जनले कामनै नभएको स्थानमा योजना सम्पन्न भएको भनि नगरपालिकाबाट भुत्तानी दिनु संस्थागत भ्रष्टाचार भएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको उनको भनाई छ ।
वडाले जारी गरेको विज्ञप्तीमा निवेदन कर्ता महर्जनले राराहिल—जाखा सडक खण्डको बाटो सडकमा मिति २०८० जेठ १ गते डोजर चलाई सार्वजनिक बाटो आवागनमा अवरोध पुर्याएको विषयमा कीर्तिपुर नगरपालिकाको न्यायिक समितिको मिति २०८० असार १ गतेको निर्णयले निज विदुर महर्जनले गरेको कार्य कानुन विपरित भएकाले उक्त बाटो बिगार्ने मानिसले नै निर्माण गर्नु पर्ने भनि निर्णय गरेको, सो निर्णय उपर चित्त नबुझि निजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा अदालतले निषेद्याज्ञा खारेज गरेको र उक्त मुद्दा विचाराधिन रहेको अवस्थामा सोहि विषयलाई लिएर कीर्तिपुर सन्देशका सह—सम्पादक एंव वरिष्ठ पत्रकार नजरराम महर्जनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जथाभावी भ्रामक पोष्ट गरी यस वडाका वडा अध्यक्ष राजेन्द्र कुमार महर्जन लगायतका सार्वजनिक व्यक्तीहरुको चरित्र माथि आँच आउने, चरित्र हत्या गर्ने मनसायले भ्रामक पोष्ट गर्ने गरेको बुझिन आएको सम्बन्धमा उक्त पोष्टहरु प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तीमा भनिएको छ, यस्तो कपोकल्पित, भ्रामक समाचार पोष्टहरु प्रति वडावासी भ्रममा नपर्न अनुरोध छ । वडाको विज्ञप्ती हेर्दा वडा अध्यक्ष महर्जन र निवेदनको विवाद र पत्रकार महर्जनमाथि लगाइएको आरोप मेल खादैन । वडाले आफ्नो विज्ञप्तीमा विदुर महर्जनले अख्तियारमा दिएको निवेदनका विषयमा आम वडावासीमा जानकारी गराउनुपर्नेमा पत्रकारमाथि आरोप लगाइ सम्मानीत पेसाको अपमान गरेको केहि पत्रकारहरुको भनाई छ ।
निवेदक महर्जनको निवेदनमा भनिएको छ, ‘आफ्नो नाउमा रहेको सो वडाको कि.नं. ६९४ को क्षेत्रफल ०–१०–२ जग्गाबाट साबिकको देखि चलन चल्तीमा रहेको गोरेटो बाटोमा नगरपालिकाबाट बजेट राखि भ्रष्टाचार भएको छ । कीर्तिपुर नगरपालिका वडा ५ कार्यालयका अध्यक्ष राजेन्द्र कुमार महर्जन र आनन्द बस्ती उपभोक्ता समिति नामक समितिका सुवास शर्माले वडा नं.५ को अन्य स्थानको बाटो विस्तार गर्ने सहमति भई बजेट पास गरी कीर्तिपुर नपा—५ अन्र्तगत पर्ने राराहिल स्कुलको गेट(टौ दह जाने बाटो) बाट जनसेवा मावि पुग्ने कच्ची बाटो विस्तार गर्ने गरी पारित भएको बजेट रकमबाट बाटो निर्माण गरेको थियो ।
सो स्थानबाट बाटो निर्माण भएको विषयलाई अहिले मेरो जग्गामा रहेको गोरेटो बाटोलाई नगरपालिकाबाट बजेट विनियोजन गरि १४ फिट बनाइएको भनि झुटा विवरण पेसगरि रकम हिनामिना गरिएको हुनाले तत्काल छानविनको माग गर्दैछु । हामीले यस विषयमा बुझ्न कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रशाद बास्कोटालाई सोधका थियौं । यस विषयमा सम्बन्धीत वडाबाटै जानकारी दिन अनुरोध गरे । उनले आवश्यक परे उक्त आयोजनाको विवरण उपलव्ध गराउने बताए ।