Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनी विकास कोषका उपाध्यक्षमा डा. ल्हारक्याल लामा चयन


लुम्बिनी विकास कोषका उपाध्यक्षमा डा. ल्हारक्याल लामा चयन

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) चयन भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले आज पदभारग्रहण गरी औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएको हो ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर उनलाई कार्यालयमा स्वागत गरेका छन् ।

पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उचो राख्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनीजस्तो पवित्र ठाउँको बदनाम नगर्ने प्रतिबद्धता जनाउनुभयो । आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताउनुभयो । उहाँले बुद्ध जन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने धारणा राख्नुभयो । आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने उहाँको भनाइ छ । ‘मान्छे हो, कहिलेकाँही बुझाइमा समस्या हुन सक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्ने छैन’ उहाँले भन्नुभयो ।

उपाध्यक्ष लामाले विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने । लुम्बिनीलाई पवित्रस्थलका रुपमा परिचित बनाउनेगरी काम गर्न पदाधिकारी, कर्मचारी, स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने चर्चा गर्नुभयो ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित स्रोत साधनबाट काम भइरहेकाले अब बाँकी कामहरु नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास ब्यक्त गर्नुुभयो । लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारीसहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र केही स्थानीयको समेत उपस्थिति रहेको थियो ।