काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले अब बैंकहरुले धितोमा आधारित कर्जा भन्दा पनि उत्पादनमा आधारित कर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपालमा अधिकांश कर्जा धितोमा आधारित भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन बनेको बताए । उनले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताए ।
अब बैंकहरुले पनि धितोमा आधारित होइन, उत्पादन वा आयोजनामा आधारित भएर कर्जा प्रवाह गर्न आवश्यक छ, उनले भने । अर्थमन्त्री महतले बैंकहरुले प्रोडक्टमा आधारित भएर कर्जा दिँदा कर्जा दिन लायक परियोजना भएरनभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताए ।
उनले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९-०८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गरे । तर आर्थिक वर्ष २०७९-८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गरे ।
उनले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकीकरण नपुगेको बताए ।