Tuesday, November 18, 2025

२०८२ मंसिर ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लगानीको सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर छः अर्थमन्त्री


लगानीको सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर छः अर्थमन्त्री

काठमाडौँ । निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार गम्भीर रहेको अर्थमन्त्री रामेश्वर खनालले बताउनुभएको छ । 

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सङ्कटको अवस्थामा पनि निजी क्षेत्रले देखाएको आँटलाई प्रशंसा गर्दै लगानीको सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर रहेको बताउनुभएको हो । “सङ्कटमा निजी क्षेत्रले देखाएको आँटका लागि हरेक कोणबाट सहयोग गर्न सरकार तयार छ,” उहाँले भन्नुभयो, “सुरक्षाका लागि गृहमन्त्री र म दुवै गम्भीर छौँ ।”

निजी क्षेत्रको सम्पत्ति पनि राष्ट्रकै सम्पत्ति भएकाले यस्तो क्षतिलाई सबैको नोक्सानीका रूपमा लिनुपर्ने उहाँको धारणा थियो । प्रणाली बलियो बनाएर व्यावसायिक वातावरण बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो । 

त्यस क्रममा उहाँले कर प्रशासनलाई सुधार गरेर करदातामैत्री बनाउनेतर्फ सरकार निरन्तर लागिरहेको जानकारी दिनुभयो । ६० खर्बको अर्थतन्त्रलाई १२० खर्बको पु¥याउन सके करको आधार दिगो हुने उहाँको भनाइ थियो । उहाँले अबदेखि दुःख दिने उद्देश्यले निजी क्षेत्रको लेखा परीक्षण नहुने जानकारी दिनुभयो । 

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थतन्त्रका सूचक सकारात्मक रहेकाले लगानीको वातावरण बनाउन कर प्रशासन र निजी क्षेत्रबिच सहकार्यको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो । 

राजस्व सचिव भूपाल बरालले कर प्रणालीमा सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत करदातालाई सहयोग पुग्ने गरी विभागले काम गरिरहेको जानकारी दिनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कानुनको सही कार्यान्वयन नभएमा लगानी प्रभावित हुने बताउनुभयो । भूतप्रभावी कानुनका कारण निजी क्षेत्रको मनोबल घटेको उहाँको धारणा थियो । पछिल्ला आन्दोलनमा गलत तत्वको घुसपैठले उद्योग व्यवसायमा असर परेको उहाँको भनाइ थियो । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन उपभोक्ताको क्रयशक्ति बढाउनुपर्ने र त्यसका लागि करका दरमा हेरफेर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

यसैगरी, व्यवसायी मीनबहादुर गुरुङले ठुलो क्षतिपछि पनि आफू उठ्नु पर्छ भनेर मेहनत गरेको बताउनुभयो । आफ्नो संस्थाले कर तिरेर बचेको नाफा दान दिन चाहेको पनि उहाँले उल्लेख गर्नुभयो ।