काठमाडौं । लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ। विगत ९ दिनमा लगातार १९१ अंकले बढेपछि बजार सोमबार करिब ३ अंकले घटेको छ। सोमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा झरेको छ। कारोबार रकम करिब ५ अर्ब नजिक पुगेको छ। यस दिन ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएको छ।
यसअघि होटल र इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताको बढी आकर्षण रहेकोमा अहिले ती सेक्टरले केहि विश्राम लिन खोजेको देखिन्छ। सोमबार होटल र इन्सयोरेन्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ। सोमबारको बजारमा लगानीकर्ताको आकर्षण फाइनान्स र विकास बैंकमा देखिन्छ। यस दिन फाइनान्स उपसमूहको सूचक ५.२२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक ३.४९ प्रतिशतले बढेको छ।
सोमबारको बजारमा लगानीकर्ताले सेक्टर परिवर्तन गर्न खोजेको देखिन्छ तर बजारमा खरिदचाप भने कायमै छ। हालसम्म फाइनान्स र विकास बैंकको शेयरमूल्य अन्य कम्पनीको तुलनामा निकै कम बढेको थियो। जसले गर्दा लगानीकर्ताले उक्त क्षेत्रमा खरिद चाप बढाएको देखिन्छ। यस दिन सेन्ट्रल फाइनान्स,माउन्टेन इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।
भने विपिडब्लु लघुवित्त, मेन्छियम हाइड्रोपावर र सिटि होटलको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ। सोमबार युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने पाँचथर पावर, अभियान लघुवित्त र अपरहेवा हाइड्रोको शेयरमूल्य पनि उच्च् दरमा घटेको छ। सोमबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
भने नेपाल दुरसञ्चार कम्पनीको १८ करोड १३ लाख, सोल्टि होटलको १७ करोड ८९ लाख र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ।