काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिका कारण क्यानडा, मेक्सिको र चीनका मुद्रामा गिरावट आएको छ । न्युयोर्क टाइम्सका अनुसार, मेक्सिकोको मुद्रा पेसो अमेरिकी डलरसँगको तुलनामा एकै दिनमा १.१८ प्रतिशतले कमजोर भएको छ। यसैगरी, क्यानडाको मुद्रा क्यानाडियन डलर अमेरिकी डलरसँगको तुलनामा १ प्रतिशतले कमजोर भएको छ, जुन मे २०२० यताकै ठूलो गिरावट हो ।
चीनको मुद्रा युआनमा पनि गिरावट आएको छ, यद्यपि यो मेक्सिकोको तुलनामा कम छ। चिनियाँ मुद्रा युआन अमेरिकी डलरसँगको तुलनामा ०.३ प्रतिशतले कमजोर भएको छ ।
ट्रम्पले आफू सत्तामा आएपछि पहिलो दिनदेखि नै क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सबै सामानमा भारी शुल्क (ट्यारिफ) लगाउने अभिव्यक्ति दिएका छन् । यी देशहरूबाट लागूपदार्थ र अवैध आप्रवासीको प्रवाह बन्द नभएसम्म यही नीति जारी राख्ने उनको बताएका हुन् ।
सोमबार ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने बताएका छन् । उनले क्यानडा र मेक्सिकोले सजिलै अवैध आप्रवासी र लागूपदार्थ आपूर्तिमा रोक लगाउन सक्ने तर्क गर्दै त्यसो नगरे ठूलो मूल्य चुक्ता गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।
एक अर्को पोस्टमा उनले चीनमाथि थप १० प्रशित शुल्क अर्थात् ३५ प्रतिशत ट्यारिफ लगाउने बताएका छन् । उनका अनुसार चीनले गैरकानुनी रूपमा ठूलो मात्रामा लागूपदार्थ अमेरिका पठाइरहेको छ । ट्रम्पले यसबारे पहिले पनि चिनियाँ अधिकारीहरूसँग कुरा गरेका थिए ।
चिनियाँ पक्षले लागूपदार्थ आपूर्तिमा संलग्नलाई मृत्युदण्ड दिने कानुन ल्याउने वाचा गरेको भए पनि त्यो पूरा नगरेको उनले बताएका छन् ।