काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको कार्यान्वयन पक्षमा सबैले प्रश्न गरिरहँदा त्यसलाई सुधार्न विभिन्न कार्यक्रम लागू गर्ने बताएका छन् । आर्थिक मिडिया संचालहरुको साझा संस्था आर्थिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले सोमबार राजधानीमा आयोजना गरेको पोस्ट बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘बजेट सम्बन्धि प्रश्न मैले पनि गर्ने गरेको छु । बजेटको आलोचना हुन सक्छ । तर हामी सुधारको कार्याक्रम लागू गर्छौं ।’
बजेटले लिएको लक्ष्य पुरा हुने विश्वास प्रकट गर्दै उनले भने, ‘राजस्वको टिप्पणी गर्दा सुरुमा बजेट राम्रो हुने र करको दर हेर्दा अप्ठ्यारोमा परेका छन् भन्ने विषय छ । निजी क्षेत्रको स्वदेशी उद्योग जोगाउन भनि माग गरेका छन् । हामीले कम्तिमा तयारी वस्तु र कच्चा पदार्थमा एक तहको सुविधा दिइएको छ’–अर्थमन्त्री महतले भने ।
उनले करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएको समेत बताए । रिसाएका व्यवसायीहरुले नै हिलो छ्याप्ने काम गरेको अर्थमन्त्री महतको आरोप छ ।
सोही अवसरमा आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौति दिँदै सबै राजश्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरि राजश्वको दर टुङग्याइएको र यसमा कसैको प्रभाव नभएको उनले जानकारी गराए ।
मन्त्री महतले भने ‘म सबैसामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन ।’
सरकारले लक्ष्य अनुसार नै भ्याट लगाएको र यसलाई वैज्ञानिक बनाउँदै जानुपर्ने उनको भनाई छ ।