काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई पुर्याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेर यात्रुहरुलाई नै बाधा हुन लागेपछि मंगलबारदेखि ‘भिजिटर पास’ सेवा बन्द गरिने भएको छ ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, भिजिटर पास लिनेको भीडले विदेशीने यात्रुलाई विमानस्थलभित्र प्रवेश गर्न, चेकइन काउन्टरमा पुग्न, जहाजसम्म जान ढिलाई हुने लगायतका समस्या देखीएपछि उडानमै असर पर्न नदिन यो निर्णय गरिएको हो ।
उनका अनुसार, भिजिटर पासका लागि अधिकांश पहुँच भएका, उच्च तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक व्यक्तित्व लगायत देशैभरबाट अत्यधिक माग भनसुन हुँदै आइरहेकोमा अब भने विमानस्थलले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बिहान ६ बजे खुला हुने काठमाडौं विमानस्थल राति १ बजेसम्म सञ्चालनमा आउँछ । यहाँ दैनिक ४५ देखि ५० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान आवागमन हुन्छन् । विमानस्थलको टर्मिनल कार्यालयका अधिकारीहरुका अनुसार यात्रु आवतजावतको भीड व्यवस्थापन गर्न र सुरक्षालाई प्राथमिकता दिँदै भिजिटर पास प्रणाली तत्कालका लागि रोकिँदा यात्रुहरुलाई सहजता हुने र भीड कम भई जाँदा सुरक्षा चुनौती पनि कमी हुने छ ।
काठमाडौं विमानस्थलले आन्तरिक टर्मिनलमा यात्रुलाई पुर्याउन जाने भिजिटर पास भने बन्द गरेको छैन । त्यहाँ धेरै चाप नपर्ने भएकाले यो सुविधा त्यहाँ कायमै राखिएको छ । वृद्धवृद्धा, बालबालिका, शारीरिक रुपमा अशक्त, ह्विलचेयर प्रयोगकर्ता, बिरामी यात्रुहरुका आफन्तनलाई उपलब्ध गराइने भिजिटर पास सेवालाई भने कायमै राखिएको छ ।