काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन । स्थानीय समय अनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नुहुने छ ।
छेन्दुमा रहँदा उनको पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने छन् । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गरेका छन् ।
बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्ने छन् । त्यसपछि उनी बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् । भ्रमण दलमा, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू छन् ।