काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए—नेपाल)ले २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि पुनस् बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारणलाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ।
लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे-नयाँ–दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।
अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनस् आह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माणस्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ।
यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।
एमसिए-नेपालले बुटवल-गोरखपुर प्रसारणलाइनअन्तर्गत नेपालमा पर्ने १८ किलोमिटर प्रसारणलाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारणलाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।