Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

एक दर्जन लघुवित्त मर्जरमा जाने तयारी, कुन–कोसँग हुँदैछ?


एक दर्जन लघुवित्त मर्जरमा जाने तयारी, कुन–कोसँग हुँदैछ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई सुविधा दिने भएपछि पछिल्लो समय लघुवित्त संस्थाहरु मर्जरमा जान थालेका छन् ।

राष्ट्र बैंकले वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नै निरन्तरता दिएको छ । २०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर चलेको हो ।


हालसम्म १२ वटा लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जर सम्झौता भइसकेको छ ।

साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता गरे । सम्झौता पत्रमा साधना लघुवित्तको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्तको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर समेत गरेका थिए ।

दुवै लघुवित्तको सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने सहमति भएको साधना लघुवित्तका सीईओ रेशम न्यौपानले बताए । मर्जरपश्चात् सबैको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको उनले थप जानकारी दिए ।

साथै, मर्जरपश्चात् लघुवित्त सञ्चालक समितिको अध्यक्षमा साधना लघुवित्तबाट थापा बन्ने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल नियुक्त हुने छन् । दुवै लघुवित्त राष्ट्रिय स्तरमा रुपमा कारोबार गरिरहेका छन् । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दिपुरमा छ भने साधना लघुवित्तको गोरखा हरमटारीमा छ । दुवै संस्था एक आपसमा मर्ज भएपछि केन्द्रिय कार्यालय चितवनमा राख्ने सहमति भएको छ ।

हाल सबैको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ छ भने साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । मर्जर पश्चात् भने लघुवित्तको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्ने सीईओ न्यौपानेले बताए । मर्जरपछि १८३ वटा शाखा कार्यालय पुग्ने छन् भने आगामी पुसम्म एकीकृत कारोबार गरिसक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर भयो । दुई लघुवित्तबीच सेयर स्वाप रेसियो १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए)मा फरक पर्याे भने सोही अनुसार स्वाप रेसियो निर्धाणरण गर्ने सहमति भएको छ ।

मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा किसान लघुवित्तका सीईओ पर्वतकुमार कार्की नियुक्त हुने छन् भने अध्यक्षमा जाल्पा सामुदायिक लघुवित्तबाट बीर बहादुर अधिकारी रहने सहमति भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम मातृभूमि लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको छ । तर, मर्जरपछि दुवै संस्थाको नाम जोडेर कुनै नाम राख्न राष्ट्र बैंकले स्वीकृति दिएमा त्यसमा पनि छलफल हुने उनले बताए ।

हाल किसान लघुवित्तको करिब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जाल्पा सामुदायिक लघुवित्तको १८ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्ने छ ।

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान गत चैत २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । मानुषी लघुवित्तका तर्फबाट अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट अध्यक्ष राजकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् । दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) प्रतिवेदनमा फरक पर्याे भने सोही अनुसार स्वाप रेसियो निर्धाणरण गर्ने सहमति भएको छ ।

मर्जरपश्चात् लघुवित्तको अध्यक्ष सृजनशीलबाट राज कुमार श्रेष्ठ र सीईओ मानुषीबाट शोभा बज्राचार्य बन्नेछन् ।

दुवै संस्था राष्ट्रिय स्तरमा कारोबार गरिरहेका छन् । अबको केही महिनाभित्र मर्जर प्रक्रिया टुंग्याउने गरी काम भइरहेको सृजनशील लघुवित्तका सीईओ बटुक शमशेर श्रेष्ठले बताए । उनका अनुसार मर्जरपश्चात् ६९ वटा शाखा कार्यालय पुग्ने छन् भने चुक्ता पूँजी २२ करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकले एलओआई दिएका कारण मर्जर प्रक्रिया लम्बिएको उनको भनाइ छ ।

नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने छन् ।

लघुवित्तको सीईओमा नेरुडे लघुवित्तबाट भोजराज बस्याल र अध्यक्ष मिर्मिरे लघुवित्तबाट बन्ने सहमति भएको छ भने मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।

यसका साथै, लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ, २५० शाखा, सेवाग्राही संख्या ३ लाख, निक्षेप ६ अर्ब २५ करोड, कर्जा लगानी १९ अर्ब रुपैयाँ र कर्मचारी संख्या १ हजार ३ सय जना पुग्ने छन् ।

सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार १ः०.८५ अनुपात कायम गरिएको सामुदायिक लघुवित्तका सञ्चालक हिरा लाल विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । साथै, मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्षमा सामुदायिक लघुवित्तबाट र सीईओमा बिपीडब्लु लघुवित्तका सीईओ दिलिप पोख्रेल बन्ने छन् ।

मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ । सामुदायिक लघुवित्तको हालको केन्द्रिय कार्यालयलाई केन्द्रिय कार्यालयको रुपमा तोकिएको छ । मर्जर लघुवित्तका ४१ वटा शाखा कार्यालय पुग्नेछन् । तर, केही शाखा दोहोरिएको हुँदा कम हुन सक्ने सञ्चालक विश्वकर्माले बताए । मर्जर प्रस्ताव पारित गर्नका लागि दुवै लघुवित्तले विशेष साधारण आह्वान गरेका छन् । साधारण सभाले पारित गरेपछि राष्ट्र बैंकले स्वीकृत दियो भने लगत्तै एकीकृत कारोबार गर्ने उनको भनाइ छ ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्याे । मनकामना स्मार्ट लघुवित्त प्राप्तिपश्चात् समता घरेलु लघुवित्तको नामबाट कारोबार हुनेछ ।

सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुने प्रारम्भिक सहमति भएपछि डीडीए रिपोर्टमा फरक आयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण गरिनेछ । माघसम्म एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको भएपनि सम्भव नभएकाले बैशाखसम्म मर्ज गरिसक्ने तयारी रहेको छ ।

मर्जरपश्चात् समता लघुवित्तबाट डा.मदन घिमिरे सीईओ बन्ने छन् भने अध्यक्ष डीएम थेबे लिम्बु रहने छन् । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । वागमति प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र बनाई कारोबार गरिरहेका दुवै मर्जरपश्चात् राष्ट्रिय स्तरको लघुवित्तका रुपमा स्तरोन्नति हुनेछ ।

मर्जरपश्चात् समता घरेलु लघुवित्तको चुक्ता पूँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्ने छ भने कुल शाखा संख्या ९९ वटा पुग्ने छन् ।