Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

स्थानीय तहले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन आवश्यक छ,अहिले जति छ त्यो अपुग होः स्वास्थ्य विभाग प्रमुख मानन्धर[भिडियो सहित]


स्थानीय तहले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन आवश्यक छ,अहिले जति छ त्यो अपुग होः  स्वास्थ्य विभाग प्रमुख  मानन्धर[भिडियो सहित]

काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी संक्रमण र आँखा पाक्ने रोग ‘कन्जंग्टिवाइटिस’ तीव्ररुपमा फैलिरहेको छ । डेंगी संक्रमणले यस वर्ष ११ जनाको मृत्यु भइसकेको छ । मृत्युहुने सबै धरान उपमहानगरपालिका स्थानीयहरु हुन । मृत्युहुने अधिकतर व्यक्ति दीर्घ रोगी, जटिल स्वास्थ्य स्थिति भएका र बूढापाका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङक रहेको छ । तराईमा तीव्रगतिमा फैलिएको डेंगी काठमाडौं उपत्यकामा पनि उस्तै छ । अहिलेपनि काठमाडौं उपत्यकामा संक्रमणको ग्राफ निकै बढेको छ । जसमध्ये कीर्तिपुर नगर पनि संक्रमणको उच्च जोखिममा रहेको छ ।

मुख्यगरि कीर्तिपुर देशैभरिका विद्यार्थीहरु र आम मानिसको अस्थायि बसोबास गर्ने क्षेत्रकारुपमा रहेको छ । यहाँ पढ्नकालागि ७७ वटै जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् । जहाँ मधेश र तराई मुलुकका विद्यार्थीहरु अधिकांस छन् । अहिले कक्षा ११ र १२ को शैक्षिक शत्र सुरुभएको छ । विद्यार्थीको चाप निकै बढेको अबस्थामा दिनप्रतिदिन महामारीकारुप लिइरहेका यि दुई संक्रमणले कीर्तिपुर नगर अछुतो रहन सक्दैन भन्नेमा दुईमत छैन । मंगलबारको डाटा मात्रै हेर्ने हो भने, कीर्तिपुर आँखा अस्पतालमा आँखा जाँच गर्न आएका मध्ये ४५ प्रतिशतमा संक्रमण देखिएको छ ।

आज कीर्तिपुर अस्पतालमा दिनौं डेंगी संक्रमणको लक्षण लिएर विरामी आउने संख्याकमी छैन । जाडोयाम नआएसम्म डेंगीको संक्रमण जारी रहने भएकाले मुख्य रूपमा बिहान र बेलुका अर्थात् दिनमा टोक्ने लामखुट्टेबाट बच्न तथा लामखुट्टेलाई नष्ट गर्ने अभियान सञ्चालन गर्न विज्ञहरू जोड दिन्छन् । डब्लूएचओका अनुसार डेंगीको विश्वव्यापी प्रकोप नाटकीय रूपमा बढेको छ र विश्वका आधा जनसंख्या अहिले डेंगीको जोखिममा छन् । १ सय २९ मुलुक डेंगी संक्रमणको जोखिममा भए पनि वास्तविक बोझको ७० प्रतिशत एसियामा छ । ईडीसीडीका अनुसार यो वर्ष भेटिएका संक्रमितमध्ये सुनसरी जिल्लामा ५३.५६ प्रतिशत र कोशी प्रदेशमा ७३.६७ प्रतिशत रहेका छन् । यसै सन्दर्भमा रहेर कीर्तिपुर नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख सन्तमान मानन्धरसँग हाम्रो विजनेश दर्शन संवाद विशेष अन्तर्गतको कार्यक्रम ‘हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर’ मार्फत् भलाकुसारी गरेका छौं । प्रस्तुत छ, उहाँसँग लिएको अन्तर्वार्ताको सम्पादकीय अंश......

१. अहिले मुलुकभरी नै डेंगु संक्रमण बढ्दै गईरहेको अवस्था छ । कीर्तिपुर नगरपालिकाले यसको रोकथामका लागि के–कस्ता प्रकृया अगाडी बढाईरहेको छ ?

देशमा विगत् दश बाह्र वर्षदेखी नै डेंगु संक्रमण समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । यसको रोकथामका लागि कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखाले सुरुमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखी कार्यक्रम दिनुका साथै वर्तमान समयमा स्वास्थ्य सम्बन्धी समस्याहरु र त्यसको निराकरण सम्बन्धी विषयमा जानकारी गरायौं । त्यसपछि वडा–वडामा स्वास्थ्य संस्था मार्फत् जनप्रतिनिधि, स्वयम्सेविका, बुद्धिजीवि, समाजसेवी र विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतका व्यक्तिहरुलाई डेंगु रोग सम्बन्धी जानकारी दिएर यस रोगको समाधान प्रभावकारी रुपमा समाधान गर्ने विषयमा अभिमुखी कार्यक्रम सञ्चालन गरेका थियौं । सम्भवतः यो कार्यक्रम एक दुई संस्थाबाहेक अरु सबै संस्थाहरुमा हामीले सञ्चालन गरिसकेका छौं र बाँकी रहेको एक दुई संस्थामा पनि अबको दुई चार दिन भित्रमा सञ्चालन गर्ने तयारी छ ।
यसका साथै यो डेंगु रोग फैलाउने एडिस एडिपटाईल र एडिस एल्बोपिक्टस भन्ने जुन दुई किसिमका लामखुट्टेहरु छन्, ती लामखुट्टेलाई खोजी गर्ने र नष्ट गर्ने कार्य सबै वडाहरुमा तीव्र रुपले भईरहेको छ । त्यस्तै, यो रोगबारे स्थानीयलाई जानकारी दिन र त्यसबाट बच्न पनि दिनहुँ जस्तै माईकिङ गरेर पोष्टरपम्प्लेट, पत्रपत्रिकादेखी लिएर स्थानीय एफएममार्फत् सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर व्यापक रुपमा प्रचार–प्रसार गरिरहे्का छौं । यसका अतिरिक्त हामीले स्कूल–स्कूलमा सम्बन्धित शिक्षक मार्फत् विद्यार्थी तथा बालबालिकाहरुलाई यसबाट सतर्कता अपनाउन विभिन्न अभिमुखीमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं । त्यसैगरी यदि स्थानीय कसैलाई डेंगु रोग लागेको शंकास्पद भएमा नगरमा सञ्चालित चारवटा स्वास्थ्य संस्थाहरु मार्फत् निःशुल्क परीक्षणको व्यवस्था पनि हामीले मिलाएका छौं ।
२. नगरपालिकाले यो रोगविरुद्ध केही पहल गरिरहेको जस्तो त देखिन्छ । तर यदि यो रोगले तीव्र गति लियो भने त्यसको व्यवस्थापन कसरी गर्नसक्नुहुन्छ?

त्यसका लागि हामीसँग आरआरटी अर्थात् ¥यापिड रेस्पोन्स टिम तयारी अवस्थामा छ र त्यो टिमलाई हामी तुरुन्त परिचालन गर्नेछौं । त्यसका लागि हामीले चाहिने स्रोत र साधनहरु प्नि तयारी अवस्थामा राखेका छौं । र यदि कोरोनाको जस्तै गरि डेंगुले पनि महामारी रुप लियो भने त्यसको रोकथाम तथा व्यवस्थापन गर्न अहिले हामी सक्षम छौं ।

३. हामीलाई प्राप्त जानकारी अनुसार नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि पर्याप्त बजेट पारित गरेको देखिंदैन । जनताको स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने होईन र?

यो कुरा सही हो कि जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्नुपर्ने हो । तर यो चाहिँ होईन कि, नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि पर्याप्त बजेट पारित गरेको छैन । स्वास्थ्य शाखाबाट पेश भएका प्रत्येक कार्यक्रमहरु नगर सभाबाट पारित भएर त्यही अनुरुपको बजेट नगरपालिकाबाट विनियोजित भई नै रहेको हुन्छ ।

४. कोभिडको समयमा तपाईले आफ्नो तर्फबाट धेरै नै खटेर जनताको सेवामा लाग्नुभएको थियो । तर स्थानीय सरकारले भने तपाईले गर्नुभएको काममा सही मुल्याङ्कन र प्रोत्साहन गरेको देखिंदैन, किनहोला?

कोभिडमा त म जनताको सेवामा खटेकै हुँ, जुन तपाईहरुले पनि देख्नुभएकै छ । त्यो समयको कुरालाई उत्थान गरिदिनुभएकोमा यहाँको मिडियालाई म धेरै धन्यवाद दिन चाहन्छु । त्यो समयमा हामीले हाम्रो बल, बुद्धिविवेक र क्षमताले भ्याएसम्म लडेका थियौं । त्यसरी लागि पर्दा नै हामीले मन्त्रालयको तथ्यांकमा नगरमैं ट्रान्समिसन रेट, जुन रोग सर्ने दर चाहिँ सबैभन्दा न्यून रहेको रिकर्ड राख्न सफल रह्यौं । जुन मन्त्रालयका विज्ञहरु नगरपालिकामैं आएर नै हामीलाई जानकारी दिनुभएको थियो ।
तर, पुरस्कार पाईएला र जस पाईएला भनेर नै चाहिँ त्यो बेला म खेटेको भने कदापी होईन । त्यसलाई मैले आफ्नो कर्तव्य ठानेर त्यसमा आफूले सक्दो भूमिका निभाएको मात्रै हँु यसो गर्दै गर्दा र राम्रो नतिजा आउँदा मैले राम्रै गरेको रहेछु भन्ने महशुस पनि भयो । साथै नगरपालिका र जनताहरुले पछि मेरो कामको प्रोत्साहन गर्दै स्याबासी तथा धन्यवाद पनि दिनुभयो र अहिलेसम्म पनि यहाँले यो कुराको स्मरण गराईदिनुभयो, मेरो लागि सबैभन्दा ठूलो पुरस्कार पनि यहि हो । मैले त्यसैमा सन्तुष्टि लिनुपर्छ ।

५. पछिल्लो अवस्थामा देखिएको डेंगु र आँखा पाक्ने रोगको संक्रमण के हो? यसबाट कसरी बच्न सकिन्छ, अलिकति जानकारी गराईदिनुहुन्छ कि?

डेंगी लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको छ र मानिसहरुको आवत जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस –१ को संक्रमण अधिकांश रहेको छ । स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पति झण्डै ५०० देखि १००० बर्ष पहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलोपटक २००४ मा देखिएको यो रोग त्यसपश्चात विभिन्न उष्ण प्रदेशीय तथा उप–उष्णप्रदेशीय भागहरुमा तीब्रगतिमा फैलिएको छ । अहिले यो देशका ७७ मध्ये ६८ जिल्लामा संक्रमित भेटिएको छ । काठमाडौ उपत्यका डेंगु भेक्टरका लागि अनुकुल नरहेको भएतापनि बढ्दो सहरीकरण, फोहोरको असुरक्षित व्यवस्थापन र जनसंख्याको तीब्र बृद्धिका कारण भने जोखिम कायमै छ ।

एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर नै हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको सरीरको प्राकृतिक गन्धबाट आकर्सित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको सरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानि जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानिको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अँडा जम्मा गर्छ । यसका अँडा नीर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीब्र गतिमा बढिरहेको छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रकृया बढाउन सक्छ । एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटि मिल्छ । तसर्थ, ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन् ।

यसका लक्षण डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्रि फ्यारेनहाइट) प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसि दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने आदी हुन्छन् । जाँच र उपचार पद्धतीमा मुख्यतया यसको संक्रमणबाट बच्न सचेतना अभिवृद्धि नै महत्वपुर्ण हो । संक्रमणको संका लागेका विरामीमा पी.सी.आर. जाँच गरेर संक्रमण प्रमाणित गरिन्छ । त्यस्तै संक्रमण फैलिएको अवस्थामा संक्रमणलाई रोकथाम गर्न आर.डि.टि.को पनि प्रयोग गर्न सकिन्छ । सत्रंmमण भए भाइरसको लागि एन्टीभाइरल औषधीहरु प्रभावकारी नभएको पाइएको छ । त्यसलाई यसलाई लाग्न नदिनु नै सबै भन्दा महत्वपुर्ण हो ।

डेंगुको रोकथाम गर्न भेक्टर लक्षित उपायहरु अपनाउनु पर्छ । लामखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास गर्नबाट रोक्ने उपायहरु महत्वपूर्ण छन् । इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट प्रणाली अन्तर्गत भेक्टरलाई कसरी घरवरपर वसोबास गर्न रोक्ने, लामखुट्टेको टोकाइबाट बच्ने तरिका, अण्डा नष्ट गर्ने प्रकृया आदि पर्दछन् । कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक हौषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने, भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नासक) औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी छन् । यो संगै देशव्यापी जनचेतनामुलक कार्यक्रम संचालन गरि सर्बसाधारण आम जनतालाई डेंगुबाट बच्ने उपायहरु सिकाउन जरुरी छ ।


६. कीर्तिपुर नगरपालिकामा ‘मेयर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ अहिले खुबै चलिरहेको छ । यो ‘मेयर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ भनेको के हो र यस अन्तर्गत अहिले के–के काम भईरहेको छ?

हजुर नगरमा अहिले ‘मेयर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ चलिरहेको छ । पछिल्लो समय हाम्रो मुलुक लगायत विश्वभरीलाई नै सबैभन्दा बढी पीडित बनाएको रोग भनेकै प्रेसर र सुगर हो । त्यही प्रेसर र सुगर रोगलाई कसरी न्यूनिकरण गर्न सकिन्छ । यो रोग लागिसकेपछि यसको उपचार पनि महङ्गो र नियमित रुपमा यसको औषधी सेवन गर्नुपर्न भएका कारण यसको औषधी पनि महङ्गै पर्छ । र यसरी यो रोगको व्यवस्थापन र रोग लागिसकेका व्यक्तिहरुको लागि सहजीकरण गर्नका निमित्त र यस्ता रोग लाग्नै नदिने तर्फ कसरी काम गर्न सकिन्छ भन्ने विषयअन्तर्गत रहेर पनि यो कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि नगरपालिकाले स्वास्थ्य शाखा मार्फत् विगत्मा नगरपालिकाभित्र मधुमेह र उच्च रक्तस्राव रोग लागेका बिरामीहरुलाई, ७० वर्ष माथिका अपाङ्गता तथा एकल महिलालाई डाक्टरले सुझाव गरेको आधारमा औषधि वितरण गरिरहेको यहाँहरुलाई पनि अवगतै होला । तर, यो वर्षबाट ७० बाट ६८ वर्ष कायम भएको कारण चाहिँ यसको दायरा अझ झन् बढेको छ । जसले जुन औषधी सेवन गरिरहनुभएको छ, त्यही औषधी हामीले वडावडामा रहेका स्वास्थ्उ संस्था मार्फत् वितरण गर्दै आईरहेका छौं ।

त्यसैगरी, यी रोगहरु लाग्न नदिनका लागि कोभिडकालभन्दा अगाडी महिला स्वास्थ्य स्वयम् सेविका र महिला समूहका सदस्यहरुलाई प्रेसर र सुगर जाँच सम्बन्धि तालिम दिएर उहाँहरुलाई जाँच्नका लागि आवश्यक उपकरणहरु समेत दिएर समुदायमा परिचालन गरेका थियौं । तत्पश्चात् नै कोभिड महामारी सुरु भईहाल्यो योसँगै लकडाउन पनि सुरु भयो । त्यसपछि उहाँहरुलाई दिएको उपकरणहरु पनि पछि उपलब्ध नभएको र दिएका केही उपकरणले पनि काम नगरेको अवस्था रहेको भन्ने मलाई प्रतिवेदन आएको थियो । र अब फेरि पनि हामीले यही कार्यक्रम मार्फत् त्यसरी नै काम सञ्चालन गरेर स्वास्थ्य सम्बन्धी कार्य गर्ने तयारी थालेका छौं ।

यसका साथै ६८ वर्षभन्दा माथिका सुगर प्रेसर बिरामीहरुलाई आवश्यक परीक्षण जस्तैः रगतपिसाव जाँच गर्ने प्रयोगशालाको परीक्षण, ईको, ईसीजी सेवादेखी लिएर एक्स–रे सम्मको आवश्यक परीक्षण निःशुल्क रुपमा उपलब्ध गराउने गरी स्वास्थ्य कार्यक्रम पनि हामीले चलाएका छौं । यसबाट धेरै जना लाभान्वित पनि हुनु भएको छ । र आज यही कार्यक्रम मार्फत् म यो पनि जानकारी गराउन चाहन्छु कि केही मिनेटको समय अघावै मृत्युवरण गर्न सक्ने अवस्थामा पुगेका एकजना ज्येष्ठ नागरिकलाई समयमा नै गंगालाल हस्पिटल पठाएर उहाँको मुटुसम्बन्धी उपचार गराएर उहाँलाई स्वस्थ बनाई बचाउन पनि सफल भएका छौं । यसरी नै उहाँलगायत अरु आठ/दश जना बिरामीहरुको पनि निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरेर त्यसरी नै उपचार गराएका छौं । यसरी नगरपालिकामा हामीले सञ्चालन गरेको ‘मेयर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ साह्रै नै उपलब्धिमूलक ठहरिएको छ ।

र, अन्तमा म स्वास्थ्य शाखामा कार्यरत र स्वास्थ्य कार्यक्रम सम्बन्धि जिम्मेवारी पाएको व्यक्ति भएका कारण कीर्तिपुर नगरपालिकाले स्वास्थ्य सम्बन्धि सञ्चालन गरेका कुनै पनि कार्यक्रममा समग्र कीर्तिपुर बासीन्दाहरुले सकरात्मक भाव राखेर हरपल साथ र सहयोग दिँदै आउनुभएको छ । त्यही साथ र समर्थनको कारण कोभिड कालको समयमा समेत हामीले अन्यत्रको दाँजोमा राम्रोसँग व्यवस्थापन गर्न सक्यौं । र आगामी वर्षका लागि पनि स्वास्थ्य सम्बन्धि हामीहरुसँग नयाँ–नयाँ कार्यक्रमहरु रहेका छन् र ति कार्यक्रमहरुमा पनि कीर्तिपुरका सम्पूर्ण जनसमुदायले सहभागीता जनाई त्यसका कमी कमजोरी केलाईदिनुहुन म विनम्र अनुरोध पनि गर्दछु र स्वास्थ्य सम्बन्धि दिनुहुने आवश्यक सर–सल्लाह र सुझावलाई हामी अक्षरसः पालना गर्दै त्यही अनुसार कार्यक्रमलाई हामी अगाडि बढाउँछौ भन्न चाहन्छु ।