काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतियुनिट भारतीय २१ पैसा महँगोमा पीटीसी इन्डियासँग विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा गरेको दाबी गरेका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमबार ऊर्जामन्त्री घिसिङले यस्तो यस्तो दाबी गरेका हुन् ।
‘प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेका छौं,’ उनले भने ।
दोस्रो, भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइदिएको तर्क उनले गरे ।
‘६.७४ भारु प्रतियुनिटमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई कारबाही गर्नुपर्थ्यो,’ ऊर्जामन्त्री घिसिङले दाबी गरे, ‘त्यसबेला निर्णय नगर्ने, अझै उल्टो प्रचार गर्ने ?’
आफूहरूले राज्यको पक्षमा रही निर्णय गरेको उनको दाबी थियो । ‘राइट डिसिजन राइट टाइममा गरेका छौं,’ उनले भने ।
