काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानीको बोतलमा तोकेभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ । विभागले सोमबार विज्ञप्ति जारी गर्दै बोतलको पानीमा तोकेभन्दा बढी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) रकम असुल नगर्न व्यवसायीलाई निर्देशन दिएको हो ।
‘सिलबन्दी बोतलको पानी उपभोक्तालाई उपलब्ध गराउँदा एमआरपीभन्दा बढी रकम असुल नगर्नु हुन सूचित गरिएको छ,’ विज्ञप्तिमा छ, ‘साथै, मेनुमा उल्लेखित वस्तु वा सेवा प्राप्त गरेपछि टेबुलमा लगिएको सिलबन्दी बोतलको पानीका लागि उपभोक्तासँग थप मूल्य लिनु कुनै पनि हालतमा उपयुक्त देखिँदैन ।’
विभागका अनुसार उत्पादकले तोकेको एमआरपीभन्दा बढी मूल्यमा खानेपानी बिक्री गर्नु उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ विपरीत कार्य हो । यदि कुनै उपभोक्ताले बढी मूल्य लिएको भन्दै उजुरी वा सप्रमाण दाबी गरे सम्बन्धित व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन तथा नियम अनुसार कारबाही स्वरूप जरिबाना र क्षतिपूर्ति समेत गरिने चेतावनी दिइएको छ ।
