काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताए । शनिबार आर्थिक पत्रकार समाज सेजन को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’ राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा निकाय, निजी क्षेत्र वा पत्रकार जगतलाई प्रविधिले चुनौती थपेको मन्त्री महतको भनाइ छ ।
‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरूले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।
’ उनले हरेक प्रश्नको जवाफ दिन आफू सधैं तयार भएकोसमेत बताए । ‘संसद्भित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्,’ मन्त्री महतले भने, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्ष रूपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैं खुला छु ।’ देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयाससमेत गरिरहेको अर्थमन्त्री महतको दाबी छ ।
‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु,’ मन्त्री महतले भने, ‘पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु । राज्यबाट पनि तपाईंहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वभाविक हो । त्यसको सहजिकरण हुन्छ ।’